बर्लिनमा भीडमा कार दाैडाइयाे, १ जनाको मृत्यु


बर्लिन । जर्मनीको राजधानी बर्लिनमा आयोजित एलजीबीटीक्यू प्राइड कार्यक्रममा शनिबार राति एउटा कार भीडमा छिर्दा १ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जर्मन प्रहरीले जनाएको छ ।
स्थानीय समयअनुसार राति करिब १० बजे भएको घटनामा सेतो रङको कारले टियरगार्टेन पार्कमा प्राइड मार्चको मार्ग नजिक रहेका मानिसहरूलाई ठक्कर दिएको थियो । त्यसपछि कार एउटा रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा एक २१ वर्षीय युवक अब्दुल बीलाई पहिचान गरी सार्वजनिक रूपमा खोजी गरिरहेको जनाएको छ । प्रहरीका अनुसार उनी यसअघि पनि सुरक्षा निकायको निगरानीमा रहेका व्यक्ति हुन् र बर्लिनका इस्लामिक समूहसँग सम्बन्ध रहेको आशङ्का गरिएको छ ।
यद्यपि, घटनाको वास्तविक उद्देश्य र उनको संलग्नताको प्रकृतिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले घटनाको निन्दा गर्दै दोषीलाई कानुनअनुसार कडा कारबाही गरिने बताएका छन् । यस्तै, बर्लिनका मेयर काइ वेग्नरले यसलाई स्वतन्त्र र खुला समाजमाथिको आक्रमणको संज्ञा दिएका छन् ।
घटनाका बेला बर्लिनमा क्रिस्टोफर स्ट्रिट डेका रूपमा चिनिने प्राइड परेडमा सहभागी हुन लाखौँ मानिस भेला भएका थिए । सुरक्षा व्यवस्थाका लागि २ हजार २०० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । घटनापछि ब्रान्डेनबर्ग गेटअगाडि भइरहेको समापन कार्यक्रम रद्द गरिएको छ ।




















