रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै


किएभ । रुसले बेलारुसको भूमिबाट युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि युक्रेनले मस्कोको निकट सहयोगी राष्ट्रसँग जोडिएको आफ्नो उत्तरी सीमालाई थप सुदृढ बनाइरहेको छ ।
कुनै समय दुई देशबीच सर्वसाधारणको आवतजावत हुने व्यस्त सीमा क्षेत्र अहिले बन्द क्षेत्र, सुरक्षा अवरोध र बारुदी सुरुङले भरिएको संवेदनशील भूभागमा परिणत भएको छ । एक हजार ८४ किलोमिटर लामो युक्रेन–बेलारुस सीमामा रहेका सडकहरू लामो दूरीसम्म ड्रोन रोक्ने जालीले ढाकिएका छन् ।
युक्रेनी अधिकारीहरूका अनुसार बेलारुसले उक्त माग पूरा गरेपछि दुवै देशबिचको तनाव केही कम भएको छ । यद्यपि, बेलारुसमा रुसी सैन्य उपस्थितिमा वृद्धि भएको स्पष्ट सङ्केत नदेखिए पनि युक्रेनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमा सुरक्षा बलियो बनाउने कामलाई निरन्तरता दिएको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आफ्नो देशमाथि आक्रमण नभएसम्म युद्धमा सेना पठाउने योजना नरहेको बताउँदै आ उनुभएको छ । तर सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरू भने बेलारुस रुसको युद्धमा थप सङ्गलग्न हुन सक्ने सम्भावनाप्रति चिन्तित छन् ।
स्थानीयका लागि सीमा क्षेत्रमा निर्माण गरिएका सुरक्षा संरचनाहरू युद्धका सुरुवाती दिनहरूको सम्झना मात्र होइन, भविष्यमा हुन सक्ने कुनै पनि परिस्थितिका लागि युक्रेनको तयारीको सङ्केत पनि बनेका छन् ।
युक्रेनी सीमा सुरक्षाकर्मीहरूले बख्तरबन्द सवारीसाधन, ड्रोन र अन्य निगरानी प्रणाली प्रयोग गरी चौबीसै घण्टा गस्ती गरिरहेका छन् । अधिकारीहरूका अनुसार बेलारुस रुसको सबैभन्दा नजिकको सैन्य साझेदार भएकाले सीमा क्षेत्रमा थप सुरक्षा संरचना निर्माण गर्ने कार्य आगामी दिनमा पनि प्राथमिकतामा रहनेछ ।






















