सांसद अभिषेक प्रताप शाह र मेयर रजत प्रताप शाहविरुद्धको मुद्दा फिर्ता लिन माग


कपिलवस्तु, साउन १ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का सर्वसाधारण तथा समर्थकहरूले सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहमाथि दर्ता गरिएको मुद्दा फिर्ता लिन माग गर्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा शुक्रबार ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा कृष्णनगर नगरपालिका–२ स्थित भन्सार कार्यालय नजिक रहेको राघवेन्द्र कम्प्लेक्समा असार २८ गते भएको घटनाको वास्तविकता बुझ्न सांसद शाह र नगर प्रमुख शाहले पहल गरेको उल्लेख गरिएको छ। सो घटनालाई केही व्यक्तिले राजनीतिक प्रतिशोधको माध्यम बनाउँदै सांसद अभिषेक प्रताप शाह र नगर प्रमुख रजत प्रताप शाहविरुद्ध झुट्टा ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दर्ता गराएको आरोप ज्ञापनपत्रमा गरिएको छ।
ज्ञापनपत्र बुझाउने पक्षले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन तथा निर्दोष व्यक्तिमाथि लगाइएको आरोप फिर्ता लिन सम्बन्धित निकायसँग माग गरेको जनाएको छ। साथै कानुनी प्रक्रियालाई निष्पक्ष, पारदर्शी र राजनीतिक प्रभावबाट मुक्त राख्न समेत आग्रह गरिएको छ।
समर्थकहरूले सांसद शाह र नगर प्रमुख शाहले क्षेत्रको विकास, जनसेवा र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनीहरूमाथि लगाइएका आरोपको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्।























