सुनसरीमा सशस्त्र प्रहरीद्वारा ६ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद

सुनसरी । सशस्त्र प्रहरी बल नेपालले सुनसरी जिल्लाको कोशी गाउँपालिकामा छापा मारेर करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको विशेष सूचना तथा निर्देशनका आधारमा मिति २०८३ असार २६ गते राति १२:३० बजे सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वाटर, सुनसरीका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप राईको कमाण्डमा खटिएको ६० सदस्यीय टोलीले कोशी गाउँपालिका–१ निवासी श्री प्रसाद साह र श्याम कुमार यादवका चार वटा गोठमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा चिनी, सुर्ती, लेज, पास्ता, हरियो मटर, मुसुरी दाल, सरफ, कोकसहितका पेय पदार्थ तथा अन्य विभिन्न किसिमका किराना सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य रु. ६ लाख ५० हजार रहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी तथा नं. ४ गण हेडक्वाटर सुनसरीले सीमावर्ती क्षेत्रमा सीमावासीसँग सहकार्य गर्दै सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम, BADP लगायतका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। यस्ता कार्यक्रममार्फत सीमावासीसँग सुमधुर सम्बन्ध कायम गर्दै सीमा क्षेत्रमा हुने अवैध चोरी, निकासी–पैठारी तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध कडाइका साथ सुरक्षा कारबाही सञ्चालन गरिँदै आएको प्रहरीको भनाइ छ।
सशस्त्र प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म रु. ५ करोड २१ लाख ४३ हजार २०७ बराबरका विभिन्न अवैध सामान बरामद गरी सम्बन्धित निकायमा बुझाइसकिएको छ।






















