उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान

रासस
२०८३ असार २६ | मध्यान्ह ०१:०३ बजे

नारायणगढ (चितवन), असार २६। भरतपुर अस्पतालले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ ।
विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले अस्पतालले त्यस्ता उपकरण हस्तान्तरण गर्न आग्रह गरेको हो । अस्पतालका प्रवक्ता सहप्राध्यापक डा रामप्रसाद सापकोटाले अस्पतालको क्षमता अभिवृद्धि तथा डिजिटल रूपान्तरणको कार्य अघि बढाएकाले त्यस्ता उपकरण हस्तान्तरण भए सेवाप्रवाहलाई थप चुस्त तुल्याउन सहयोग पुग्ने बताउनुभयो ।
दैनिक तीन हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिने भरतपुर अस्पतालमा हाल उपचारका लागि भर्ना हुने बिरामीका लागि नेपाल सरकारतर्फबाट ३०० र अस्पताल विकास समितिका तर्फबाट ३०० श्यया छ ।
विशेषज्ञ सेवा विस्तारसँगै आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको अस्पतालले जनाएको छ ।























