दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास

तामाङ समाज यूएईको ‘एसएमएस धमाका सांगीतिक साँझ–सिजन ९’ भव्य रूपमा सम्पन्न, शिक्षाका लागि निरन्तर अभियान

कबिराज राजबंशी
२०८३ असार २४ | मध्यान्ह ०३:०३ बजे

 

FB IMG 1783363670336

प्रवास दुबई, यूएई|

तामाङ समाज यूएईद्वारा विगत लामो समय देखि सञ्चालन हुँदै आएको ‘सपोर्ट माइ स्कुल (SMS)’ अभियानअन्तर्गत आयोजित ‘एसएमएस धमाका सांगीतिक साँझ–सिजन ९’ भव्य रूपमा सम्पन्न भएको छ। नेपालको दुर्गम तथा आर्थिक रूपमा विपन्न समुदायका जेहेन्दार विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम बुर दुबईस्थित क्लब SK-7 मा सम्पन्न भएको हो।

FB IMG 1783363698661

नेपालका महावाणिज्यदूतावासका प्रतिनिधि श्री कुञ्जन साहको प्रमुख आतिथ्यता तथा तामाङ समाज यूएईका केन्द्रीय अध्यक्ष सुरेन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यूएईस्थित नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा तामाङ समाज यूएईका केन्द्रीय तथा क्षेत्रीय समितिका पदाधिकारी, नेपाल आदिवासी जनजाति महासंघ यूएईमा आबद्ध विभिन्न जातीय संस्थाका प्रतिनिधि, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ यूएईका प्रतिनिधि, एनआरएनए यूएई, नेपाली समाज यूएई, विभिन्न जिल्ला संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

FB IMG 1783363683639

तामाङ समाज यूएईका अनुसार सन् २०१२ देखि सञ्चालन हुँदै आएको ‘शिक्षाका लागि समाज’ भन्ने मूल नारासहितको Support My School (SMS) परियोजनाले नेपालका दुर्गम तथा आर्थिक रूपमा विपन्न क्षेत्रका सामुदायिक विद्यालय र विद्यार्थीहरूको शैक्षिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ। अभियानमार्फत शैक्षिक सामग्री, आवश्यक शैक्षिक उपकरण तथा अन्य शैक्षिक सहयोग उपलब्ध गराइँदै आएको आयोजकले जनाएको छ।

FB IMG 1783363618266

यस वर्षको कार्यक्रमबाट संकलन हुने सहयोग रकम पनि नेपालका आवश्यकता भएका सामुदायिक विद्यालय तथा गरिब, जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा खर्च गरिने आयोजकको भनाइ छ। शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएकाले अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा विस्तार गरिने तामाङ समाज यूएईले जनाएको छ।

FB IMG 1783363632336

कार्यक्रममा नेपालबाट आमन्त्रित वरिष्ठ तामाङ सेलो गायक तथा संगीतकार चन्द्रकुमार दोङको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। साथै यूएईमा क्रियाशील स्थानीय कलाकारहरूले पनि विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको आकर्षक प्रस्तुतिले दर्शकको भरपुर साथ पाएको थियो।

FB IMG 1783363665936

कार्यक्रमको तयारी, उद्देश्य र सामाजिक अभियानबारे जानकारी दिँदै तामाङ समाज यूएईका  अध्यक्ष सुरेन तामाङले एसएमएस अभियान केवल सांगीतिक कार्यक्रम नभई शिक्षा सहयोगको अभियान भएको बताए। उनले विगत नौ वर्षदेखि प्रवासमा रहेका नेपालीहरूको सहयोगबाट नेपालका आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई अध्ययनको अवसर उपलब्ध गराउने कार्य निरन्तर भइरहेको जानकारी दिए। शिक्षा क्षेत्रमा समाजको दायित्वलाई आत्मसात् गर्दै आगामी वर्षहरूमा पनि अभियानलाई निरन्तरता दिइने उनको भनाइ थियो। साथै प्रवासमा रहेका नेपालीहरूको सानो–सानो सहयोगले नेपालका धेरै विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुगिरहेको छ। त्यसैले सबै नेपालीलाई सामाजिक उत्तरदायित्वको भावनासहित यस अभियानमा जोडिन उनले आग्रह गरे।

IMG20260705153741

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने प्रायोजक संस्था, सहयोगी संघ–संस्था, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण नेपाली समुदायप्रति तामाङ समाज यूएईले हार्दिक आभार व्यक्त गरेको छ। आयोजकका अनुसार शिक्षा, सामाजिक उत्तरदायित्व तथा नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी वर्षहरूमा पनि ‘एसएमएस धमाका’ कार्यक्रमलाई निरन्तर आयोजना गरिनेछ।

कमेन्टहरु