किसानलाई अनुदानमा कृषि उपकरण

रासस
२०८३ असार २३ | मध्यान्ह ०४:०३ बजे

तनहुँ । किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ। घिरिङ गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कम्वाइन मिल र हाते ट्रयाक्टर वितरण गरिएको हो। पालिकाको रु ७५ लाख र किसानको ७५ लाख गरी रु एक करोड ५० लाखका लागतमा कृषि उपकरण खरिद गरिएको पालिकाका अध्यक्ष होमबहादुर थापाले बताए।
उनले भने,“गतवर्ष पनि कृषि उपकरणका लागि गाउँपालिकाले रु ७० लाख विनियोजन गरेको थियो ।” घरै पिच्छे कृषि यन्त्रिकरण भएपछि खेतबारी जोत्न छिटोछरितोका साथै कम जनशक्तिमा धेरै क्षेत्रफलमा खेती गर्न सहज भएको छ ।
गाउँपालिकाभित्रका जग्गा बाँझो नराख्ने गरेको भेटिए पनि बाँदर आतङ्कका कारण किसानले सास्ती खेप्नुपरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए। गाउँघरमा कृषि यन्त्रिकरण भित्रिएसँगै गोरु पाल्ने परम्परा हराउँदै गएको छ।























