बागमती प्रदेश खेलकुदमा चितवनले जित्यो ३० स्वर्ण


चितवन । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवनले ३० स्वर्ण जितेको छ । चितवनसहित हेटौंडा, काठमाडौं र ललितपुरमा भएको प्रतियोगितामा चितवन समग्रमा तेस्रो भएको हो । प्रतियोगिता चितवन टिम तेस्रो भएको यो नै पहिलो पटक हो भने यो नै अहिलेसम्मको उत्कृष्ट नतिजा पनि हो ।
चितवनले एथ्लेटिक्समा १५ स्वर्ण पदक जितेको छ । यस्तौ एथ्लेटिक्समा १३ रजत र ३ काँस्य पनि जितेको छ । करातेमा टिम प्रथम भएको चितवनले ३ स्वर्ण, ५ रजत र ३ कास्यसहित ११ पदक जितेको छ । करातेमा चितवन प्रदेश खेलकुद प्रतियोगितामा प्रथम भएको यो नै पहिलो पटक हो ।
करातेसाँगै चितवनले पुरुष क्रिकेट र फुटबलमा पनि पहिलो हुँदै ईतिहास रहेको छ । यस अघि यी दुबै खेलमा चितवन प्रथम हुन सकेको थिएन । यस्तै चितवनले आईटिएफमा २ स्वर्ण, ३ रजत र ११ कास्य, ब्याड्मिन्टनमा २ स्वर्ण, एक रजत र २ कास्य जितेको छ । चेसमा २ स्वर्ण र एक रजत, बक्सिङमा २ स्वर्ण, तेक्वान्दो र उसुमा एक-एक स्वर्ण तथा महिला फुटबल, क्रिकेट र पुरुष भलिवलमा समान एक-एक रजत पदक हात पारेको छ ।
बागमती प्रदेश खेलकुद प्रतियोगितामा यस पटक चितवनले उत्कृष्ट प्रदर्शन गर्दै केही खेलमा कीर्तिमान बनाएको चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले बताए । कराते, फुटबल र क्रिकेटमा पहिलो पटक प्रथम हुँदै ईतिहास रच्नुले चितवनको खेल क्षेत्र राम्रो दिशामा अघि बढेको देखिने उनको भनाइ छ ।
उनले यो नतिजा ल्याउन समितिले लगानी गरेको र खेलाडीले लगानी खेर जान नदिएको बताए । केही खेलमा चितवनले सहभागीता जनाउन नपाउँदा यस पटक तेस्रो भएको र आगामी वर्ष चितवन प्रथम हुने लक्ष्यका साथ अघि बढ्ने उनको भनाइ छ । उनले यसका लागि खेलकुद समितिले खेलाडीको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।























