सार्वजनिक यातायातमा प्रविधिको निगरानी

रासस


काठमाडौँ, असार ९। काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिइएको छ ।
यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा उक्त प्रविधि जडान भए/नभएको विषयमा नियमित अनुगमन गर्न थालेपछि यातायात व्यवसायीहरूले पनि जडानलाई प्राथमिकता दिएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सार्वजनिक यातायातमा हुने यात्रुमाथिको दुव्र्यवहार, बढी भाडा असुली, सवारी सञ्चालनको अवस्थालगायत विषयको निगरानी तथा नियन्त्रणका लागि क्यामेरा र जिपिएस प्रणाली प्रभावकारी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाडीमा यात्रुलाई बढी भाडा लिने, यात्रुसँग हुने दुव्र्यवहार नियन्त्रण गर्न यो प्रणालीले निकै सहज बनाउने छ । विशेषगरी सवारी दुर्घटना हुँदा ठूलो सवारीसाधनको मात्र दोष देखिने प्रवृत्तिको अन्त्य गर्न तथा दुर्घटना बिमाको सम्भावित दुरुपयोग रोक्न पनि यसले सहयोग पुर्याउने छ ।”
उहाँका अनुसार जिपिएस प्रणाली जडान भएपछि सवारीधनीले पनि आफ्नो गाडी कुन स्थानमा छ, कस्तो अवस्थामा सञ्चालन भइरहेको छ भन्ने जानकारी सहजै प्राप्त गर्न सक्नेछन् । यसले सवारीसाधनको नियमित अनुगमन, चालकको जिम्मेवारी र यात्रुको सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
त्यस्तै, सार्वजनिक यातायातमा ड्यासक्यामेरा र सिसीक्यामेरा जडान भएपछि सवारीभित्र हुने गतिविधिको अभिलेख राख्न सकिने भएकाले विवाद समाधानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।
उता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले सार्वजनिक सेवाका गाडीमा ड्यासक्यामेरा र सिसीक्यामेरालगायतका प्रविधि जडान गर्ने कार्य यातायात व्यवसायीका लागि सकारात्मक कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सेवाका सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जिपिएस जडान गर्नु हाम्रा लागि राम्रो कुरा हो । तर त्यसका लागि सरकारले पनि स्पष्ट कार्यविधि ल्याउन आवश्यक छ । कार्यविधि बनेपछि हामी सबै सवारीसाधनमा जडान गरी अगाडि बढ्न तयार छौँ ।”
सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै यातायात व्यवसायीहरूले समेत गाडीमा ड्यासक्यामेरा र सिसीक्यामेरालगायत प्रविधि जडानमा प्रतिबद्धता जनाएका छन् ।
आगामी दिनमा उपत्यकाभित्र सञ्चालन हुने सबै सार्वजनिक सेवाका सवारीसाधनमा यस्तो प्रणाली अनिवार्य गराउँदै यात्रु सुरक्षा र सवारी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने योजना रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
प्रविधिमार्फत सार्वजनिक यातायातको निगरानी बढेपछि दुर्घटना न्यूनीकरण, यात्रुको गुनासो सम्बोधन तथा चालक–सवारीधनीको जिम्मेवारी निर्धारणमा थप सहजता आउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















