चन्दा दातालाई सम्मान तथा शिलालेखन कार्यक्रम सम्पन्न


गणेशपुर। श्री लोटन राम द्रौपदी माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको सरस्वती माता मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम अन्तर्गत चन्दा दाताहरूलाई सम्मान तथा शिलालेखन कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा मन्दिर निर्माणमा आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने दाताहरूलाई सम्मानपत्र प्रदान गर्दै उहाहरूको योगदानको उच्च कदर गरिएको थियो।
साथै, मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरूको नाम शिलालेखनमार्फत स्थायी रूपमा अभिलेखीकरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरूले शिक्षा र धार्मिक आस्थालाई सँगसँगै अघि बढाउन सामुदायिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्दिर निर्माणमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेका थिए। विद्यालय प्रशासनका अनुसार सरस्वती माता मन्दिरले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा धार्मिक, नैतिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।























