सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान

एजेन्सी


इस्लामवाद । पाकिस्तान सरकारले सेनिटरी प्याड तथा महिनावारीमा प्रयोग हुने अन्य सामग्रीमाथि लाग्दै आएको १८ प्रतिशत बिक्री कर हटाउने घोषणा गरेको छ । प्रजनन स्वास्थ्य र महिला अधिकारका पक्षधरहरूले यस निर्णयलाई महिनावारी सम्बन्धी सामाजिक कलङ्क हटाउने दिशामा महत्त्वपूर्ण कदमको रूपमा स्वागत गरेका छन् ।
गत साता सार्वजनिक गरिएको नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले सेनिटरी सामग्री र गर्भनिरोधक साधनमाथिको १८ प्रतिशत कर हटाउने योजना घोषणा गरेको हो ।
यो निर्णय दुई युवा वकिल हसान जहाँगीर खान र महनूर ओमेरले चलाएको कानुनी अभियानपछि आएको हो । उनीहरूले सेनिटरी सामग्रीलाई विलासिताका वस्तु नभई अत्यावश्यक वस्तुको सूचीमा राख्नुपर्ने माग गर्दै सरकारविरुद्ध मुद्दा दायर गरेका थिए ।
यूनिसेफका अनुसार पाकिस्तानमा केवल करिब १२ प्रतिशत महिला तथा किशोरीहरूले मात्र व्यावसायिक रूपमा उत्पादित सेनिटरी सामग्री प्रयोग गर्छन् । अधिकांशले कपडा वा घरेलु विकल्पहरू प्रयोग गर्ने गर्छन् । अभियानकर्ताहरूका अनुसार यसको मुख्य कारण प्याडको उच्च मूल्य हो ।
स्थानीय रूपमा उत्पादित सेनिटरी सामग्रीमा १८ प्रतिशत बिक्री कर लाग्दै आएको छ भने आयातित सामग्रीमा थप २५ प्रतिशत भन्सार कर लगाउने गरिएकाे छ । अन्य स्थानीय करसमेत जोड्दा महिलाहरूले महिनावारी सम्बन्धी सामग्रीमा झन्डै ४० प्रतिशतसम्म अतिरिक्त लागत व्यहोर्नु परिरहेको छ ।
प्रस्तावित कर हटाउने निर्णयको स्वागत गर्दै वकिलहरू खान र ओमरले महिनावारी सम्बन्धी सामग्रीमा लाग्ने सम्पूर्ण कर प्रणाली हटाउनुपर्ने माग जारी राखेका छन् । उनीहरूले सेनिटरी प्याड उत्पादनका लागि आवश्यक कच्चा पदार्थमाथिको कर पनि खारेज गर्नुपर्ने बताएका छन् ।
यस्तो कर प्रणालीले महिला तथा किशोरीहरूको स्वास्थ्य र शिक्षाको अधिकारमा असर पुर्याएको छ र सार्वजनिक जीवनमा उनीहरूको पूर्ण सहभागितामा बाधा सिर्जना गरेको खान र ओमेरको तर्क छ ।
‘यदि यो संवैधानिक मुद्दा दायर गरिएको नभएको भए सरकारले बिक्री कर नै गलत नीति हो भन्ने महसुस गर्ने थिएन,’ वकिल अहसान जहाँगिर खानले भने । हालैका वर्षहरूमा भारत, नेपाल, स्कटल्यान्ड लगायतका देश तथा अमेरिकाका एक दर्जनभन्दा बढी राज्यहरूले पनि महिनावारी सम्बन्धी सामग्री माथिको कर घटाउने वा पूर्ण रूपमा हटाउने निर्णय गरिसकेका छन् ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















