प्रबास

युरोपेली हतियार भारतविरुद्ध प्रयोग भइरहेका छन् : जयशङ्कर

एजेन्सी
२०८३ जेष्ठ २९ | मध्यान्ह ०२:०२ बजे

दिल्ली । भारतीय विदेशमन्त्री एस जयशङ्करले भारतको रुस नीतिको आलोचना गर्ने युरोपेली देशहरूलाई कडा जवाफ फर्काएका छन् । मन्त्री जयशङ्करले युरोपेली देशहरूले बेचेका हतियारहरू वर्षौँदेखि भारतविरुद्ध प्रयोग भइरहेको उल्लेख गर्दै रुसी तेल खरिदको विषयमा नयाँ दिल्लीमाथि प्रश्न उठाउने युरोपको दोहोरो मापदण्डको आलोचना गरेका छन् ।

उनले भने–‘युरोपले त्यस्ता हतियारहरू बेच्दछ, जुन भारतविरुद्ध प्रयोग हुन्छन् । यो अहिले मात्र होइन, धेरै वर्षदेखि भइरहेको छ । हामी भारतीयहरूले युरोपलाई खतरामा पार्ने कुनै काम कहिल्यै गरेका छैनौँ ।’

भारतको ऊर्जा छनोटको बचाउ गर्दै उनले सन् २०२२ मा मस्कोमाथि प्रतिबन्ध लागेपछि विश्वव्यापी तेल बजारलाई स्थिर बनाउन अमेरिका आफैँले भारतलाई रुसी कच्चा तेल किन्न प्रोत्साहन गरेको समेत खुलासा गरेका छन् ।

फिनल्याण्डमा आयोजित ‘कुल्तारान्ता टक्स’मा ‘उदीयमान शक्तिहरू र नयाँ भूराजनीतिक प्रतिस्पर्धा’ विषयक छलफलका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । उक्त कार्यक्रममा युक्रेन द्वन्द्व सुरु भएयता भारतले रुसतर्फ ‘धेरै सहानुभूति देखाएको’ र रुसी तेलमा बढी निर्भर रहेको भनी सोधिएको प्रश्नमा जयशङ्करले कडा प्रतिवाद गरेका हुन् ।

आफ्नो ऊर्जा खरिदको निर्णय भूराजनीतिबाट नभई आर्थिक दृष्टिकोणबाट प्रेरित भएको जयशङ्करले प्रष्ट पारेका छन् भने युक्रेन युद्धपछि बजारको बदलिँदो परिस्थितिका कारण रुसी तेल सबैभन्दा सहज विकल्प बनेको उनको भनाइ थियो ।

विदेश मन्त्री जयशङ्करले प्रतिबन्ध, व्यापार र ऊर्जा सुरक्षाका विषयमा पश्चिमी देशहरूको विरोधाभासी दृष्टिकोणमाथि प्रश्न उठाउँदै जटिल भूराजनीतिक मुद्दाहरूमा छनोटपूर्ण मापदण्ड लागू नगर्न चेतावनी दिएका छन् ।

कमेन्टहरु