सशस्त्रका घुमुवाकै संरक्षणमा दैनिक करोडौँको तस्करी


नवलपरासी । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै नवलपरासी जिल्लाको सीमानाका बलिनगर, बनकट्टि, झुलनीपुल, बसहीया, भुजहवा, हरपुर, हरकपूरा, भक्सीपुर, हकुई र गेर्मी नाकाबाट दैनिक करोडौंको तस्करी भैरहेका छन । यस क्षेत्रबाट पछिल्लो समय तस्करीको धन्दा खुलेआम चलिरहेको आरोप स्थानीय व्यवसायी र बासिन्दाहरूले लगाएका छन्। उनीहरूका अनुसार सशस्त्र प्रहरी साहयक हल्दार रंजित गैरेको कमाण्डमा जिल्लामा ५ जना घुमुवा खटिएका छन । उनीहरुले तस्करीसंग करोडौ रकम असुली तस्करी गराईरहेको आरोप छ । ती घुमुवाहरुकै मिलेमतो र संरक्षणमा नवलपरासीका सीमा नाकाहरूबाट दैनिक करोडौँ रुपैयाँ बराबरको अवैध कारोबार हुदा राज्यको राजश्व संकलनमा सिधै असर परेको छ ।
स्थानीय स्रोतका अनुसार नवलपरासी क्षेत्रका विभिन्न नाकाहरू अहिले तस्करहरूको ‘सेफ जोन’ जस्तै बनेका छन्। सीमा नाकामा चेकजाँच नाममात्रको हुने, तस्करहरूलाई पहिल्यै ‘लाइन’ दिएर सामान ओसारपसार गर्न सहज वातावरण बनाई दिने घुमुवा रंजित गैरेका कमाण्डमा खटिने घुमुवाहरुको दैनिकी बनेका छन ।
स्थानीय व्यवसायीहरूको दाबी अनुसार नवलपरासी जिल्लाको सीमा क्षेत्र अहिले तस्करीको मुख्य केन्द्र बनेको छ। उनीहरू भन्छन्, “यहाँबाट कपडा, जुत्ता, चप्पल, टिभी, कुलर, एसी, चिनी, कुखुरा, भैंसी, मकै, खरभुजा/तरभुजाको बियाँ, फर्सीको बियाँ, लसुन, किरानाका सामान, गहुँ, तोरी, रेड्बुल, कोकाकोला, स्प्राईड जस्ता पेय पदार्थ, अख्रोड, मिठाई, चामल, खसीबोका, भैसी, गोरु, हार्ड्वेयरका सामान लगायत खुलेआम ओसारपसार भइरहेको छ।”
घुमुवाहरुको सेटिङमा नेपालबाट पिकअप र ट्याक्टरमा अबैध सामान भारत लैजाने र भारतबाट नेपालमा अबैधरुपमा पिकअप, ट्याक्टर, मोटरसाइकलमा सामान ल्याउने गरेका छन । यसरी ल्याउने सामान सिधै बर्दघाट, भुताहा, हरकत्ता, भुमही, सुनवल, खैरेनीसम्म पुर्याउने गरेको एक तस्करले नाम नखुलाउने शर्तमा बताए ।
स्थानीय स्रोतले दिएको जानकारी अनुसार तस्करीको लाइन पाउनेमा जिल्लाका चर्चित पुराना ठुला तस्करीदेखि केही नयाँ साना तस्करीहरु रहेका छन । यति ठूलो परिमाणमा तस्करी भइरहेको आरोप लाग्दा पनि सम्बन्धित निकायको स्पष्ट प्रतिक्रिया आउन सकेको छैन। यता सशस्त्र प्रहरीका केही अधिकृतले लागुऔषध नियन्त्रणका लागि घुमुवा परिचालन गरिएको जनाएपनि घुमुवाहरुको काम तस्करलाई लाईन दिने र महिनावारी उठाउनेमा मात्र परिचालन भएको ब्यवासायीहरु बताउछन । स्थानीय श्रोतका अनुसार दिउँसो साईकल र मोटरसाइकलमा अबैध सामान ओसारपसार गर्ने र रातिको समयमा ट्याक्टर र पिकअपमा तस्करी हुने बताए ।
यता एक जना स्थानीयका अनुसार लागुऔषध नियन्त्रणका लागि खटाईएका घुमुवाहरुको संरक्षणमा जिल्लाका सीमानाकाबाट दैनिक रुपमा लागुऔषध कारोबार भएको दाबीसमेत गरेको छ ।
स्थानीय बासिन्दाहरू प्रश्न गर्छन् , “यदि प्रहरीकै संरक्षणमा तस्करी चलिरहेको छैन भने, यति ठूलो धन्दा कसरी सम्भव भयो?”उनीहरू तत्काल निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र सीमा नाकामा कडा निगरानीको माग गरिरहेका छन्।
प्रहरी प्रशासन, भन्सार र गृह मन्त्रालयले यी तस्करी र घुमुवाहरूलाई गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन गर्ने कि नगर्ने—त्यसको उत्तर खोजिरहेको छ नवलपरासीका स्थानीय बासिन्दाहरु । जबसम्म यी प्रश्नहरूको जवाफ आउँदैन, तबसम्म “तस्करीको स्वर्ग” बन्दै गएको नवलपरासीका सीमानाकाले नेपाली अर्थतन्त्रलाई झन् कमजोर पार्ने स्थानीयहरुमा चिन्ता बढेछ ।
सशस्त्रका साहयक हल्दार रंजित गैरे जस्ता घुमुवाहरुको कारणले देशका अर्थतन्त्र ध्वस्त भएको छ । उनी विगतमा पनि यस जिल्लामा घुमुवा रहदा बिबादित बनेका थिए ।






















