रौतहटमा शिक्षक कुटपिट घटनाप्रति शिक्षक संगठनको कडा आपत्ति, कारबाही नभए आन्दोलनको चेतावनी


रौतहट । रौतहट जिल्लाको श्री शंकर माध्यमिक विद्यालय, समुझा चौधरी नगरपालिका–८ मा कार्यरत शिक्षक रामबाबु यादवमाथि भएको कुटपिट तथा ज्यान मार्ने प्रयासप्रति जिल्लास्थित विभिन्न शिक्षक संगठनहरूले कडा आपत्ति जनाएका छन्। शिक्षक संगठनहरूले उक्त घटनालाई गम्भीर रूपमा लिँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय रौतहटसमक्ष माग गरेका छन्।

शिक्षक रामबाबु यादव
शिक्षक संगठनद्वारा जारी विज्ञप्तिअनुसार मिति २०८३ वैशाख २९ गते शनिबार विद्यालयमा कार्यरत शिक्षक यादवमाथि केही व्यक्तिहरूले कुटपिट तथा दुर्व्यवहार गरेका थिए। शिक्षक संगठनहरूले यस प्रकारको घटनाले शिक्षकमाथिको असुरक्षा बढेको र शैक्षिक वातावरणमा प्रतिकूल असर परेको बताएका छन्।
विज्ञप्तिमा नेपालको संविधानले शिक्षालाई मौलिक हकको रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै शिक्षकलाई सुरक्षित वातावरणमा शिक्षण कार्य गर्ने अधिकार सुनिश्चित गर्न राज्य जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरिएको छ। साथै, घटनामा संलग्न व्यक्तिहरूमाथि शीघ्र छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
शिक्षक संगठनहरूले जेठ ५ गतेसम्ममा दोषीलाई कारबाहीको दायरामा नल्याइए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन्। उक्त विज्ञप्तिमा नेपाल शिक्षक संघ रौतहट, नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहट, प्रगतिशील राष्ट्रिय शिक्षक संगठन (ANTO) रौतहट, एकीकृत अखिल शिक्षक संगठन (ANTO) रौतहट तथा नेपाल शिक्षक मंच रौतहटका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।























