म्याग्दीको दोभान: गोठबाट पर्यटकीय गन्तव्यसम्मको यात्रा


म्याग्दी । भिरालो पाखा, घना जङ्गल, र अग्ला हिमालको काखमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित दोभान पछिल्लो समय एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा उदाउन थालेको छ।
करिब २० वर्ष अघिसम्म केवल स्थानीय बासिन्दाको वर्षायाममा बस्ने घुम्ती पशुगोठको रूपमा मात्र परिचित यो ठाउँ अहिले धौलागिरि चक्रीय पदमार्गको महत्त्वपूर्ण विश्रामस्थल बनेको छ।
समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभान पछिल्लो समय घुम्ती पशुगोठ राख्ने खर्कबाट पर्यटकीयस्थलमा रुपान्तरण भएको स्थानीयबासी लक्ष्मण घर्तीले बताउनुभयो ।
“धौलागिरि चौथोको फेदबाट बगेर आउने कुनावाङ र धौलागिरि पहिलोबाट आउने म्याग्दी नदी मिसिने भएकाले दोभान नामाकरण भएको यो ठाउँ केही वर्षअघिसम्म खर्कमा सिमित थियो,” उनले भने, “धौलागिरि हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्ग भएर म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकले एकरात दोभानमा बिताउन थालेपछि पर्यटकीयस्थलका रूपमा विकास भएको छ ।”
शान्त वातावरण, चराचुरुङ्गीको आवाज र वरिपरि देखिने वन्यजन्तुहरू (मृग, झारल, घोरल) ले यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ। वसन्त ऋतुमा लालीगुराँस र वर्षामा बुकी फूलले यहाँका पाखाहरू रंगिन बन्छन्।
दोभानबाट एक दिनको पैदल दूरीमा धौलागिरि इटाली आधार शिविर र मनोरम कुनावाङ ताल पुग्न सकिन्छ। स्थानीयका अनुसार कुनावाङ तालमा पातपतिङ्गर खसेमा चराले टिपेर सफा गर्ने अनौठो दृश्य देख्न पाइन्छ।
यति मात्र होइन, यस क्षेत्रमा जापानी अनुसन्धानकर्ताहरूले ‘हिममानव’ (यती) को बासस्थानबारे समेत अध्ययन गरिरहेका छन्, जसले यस ठाउँको रहस्य र चर्चा अझ बढाएको छ।
यातायातको पहुँच पुगेसँगै दोभान पुग्न अहिले निकै सहज भएको छ। म्याग्दीखोला जलविद्युत आयोजनाले बाँध निर्माणका लागि नौ किलोमिटर सडक खनेपछि अहिले बेनीबाट करिब पाँच घण्टामै जिप वा मोटरसाइकलमा यहाँ पुग्न सकिन्छ। यसअघि बगरदेखि दोभान पुग्न पूरै दिन कठिन भिर र जङ्गलको बाटो हिँड्नुपर्ने बाध्यता थियो।
पछिल्लो समय विदेशी पर्यटकहरू हेलिकप्टर वा अन्य वैकल्पिक पदमार्ग प्रयोग गर्न थालेपछि केही सुनसान बनेको दोभानमा सडक सुविधा पुगेसँगै आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ।
हाल यहाँ ५० जनासम्म अटाउने दुईवटा होटलहरू सञ्चालनमा छन्, जहाँ पर्यटकले रातो च्याउ र निगालोको टुसा जस्ता स्थानीय परिकारको स्वाद लिन पाउँछन्। प्रकृतिसँग रमाउन चाहनेहरूका लागि दोभान अहिले एक उत्कृष्ट गन्तव्य साबित भएको छ।






















