समाचार

खाँदबारी–किमाथाङ्का सडकको साढे १० किलोमिटर सडक खण्ड सम्पन्न

रासस
२०८३ बैशाख २४ | बिहान ०८:०१ बजे

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का सडकखण्ड नेपाली सेनाले सम्पन्न गरेको छ । भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्काको साढे १० किलोमिटर सडक आयोजनाको ‘ट्र्याक ओपन’ र स्तरोन्नति काम सम्पन्न भएको हो ।

नेपाली सेनाले जिम्मेवारी पाएको उक्त सडक चैत मसान्तमा तोकिएको समयमै सम्पन्न गरिएको आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिए । खाँदबारी– किमाथाङ्का सडकखण्डको १६२ किलोमिटरमध्ये साढे १० किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको उनले बताए ।सडक निर्माण सम्पन्न गरेसँगै सेनाले केही दिनमा उत्तर दक्षिण कोशी सडक आयोजनालाई हस्तान्तरण गर्ने गरी कुरा भएको आयोजना प्रमुख सिंहले बताए ।

उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । यहाँको किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ साल भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई निर्माणको जिम्मेवारी दिएको थियो ।

किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको खाँदबारीदेखि किमाथाङ्का सडक गत २०८१ माघ १४ गते ‘ब्रेक थ्रू’समेत भइसकेको छ । खाँदबारी–किमाथाङ्का सडकमा गत वर्षसम्म छ किलोमिटर सडक स्तरोन्नति गरिसकिएको छ ।

किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म रु ६२ करोड ३६ लाख ६७ हजार खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

कमेन्टहरु