पत्रकारले कठिन परिस्थितिमा पनि सत्य उजागर गर्ने साहस देखाएका छन् : उपराष्ट्रपति


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सञ्जालमार्फत विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मी, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिएका छन् ।
उनले भनेका छन्, “पछिल्लो समय सञ्चारमाध्यम केवल मुद्रित वा प्रसारणमा सीमित छैन, सामाजिक सञ्जालले समाचारको पहुँचलाई तीव्र बनाएको छ, तर ‘एल्गोरिदम’को प्रभावले सत्य समाचारलाई कहिलेकाहीँ छायाँमा पार्छ, भ्रामक सामग्रीलाई अगाडि ल्याउन सक्छ, यसले पत्रकारिता र नागरिक दुवै समक्ष सत्यलाई पहिचान गर्ने, विवेकपूर्ण छनोट गर्ने र जिम्मेवार सञ्चारलाई प्रोत्साहन गर्नेजस्ता चुनौती थपिदिएको छ ।”
शुभकामना सन्देशमा भनिएको छ, “नेपालको सन्दर्भमा, यहाँका पत्रकारहरूले कठिन परिस्थितिमा पनि सत्य उजागर गर्ने साहस देखाएका छन्, तर आर्थिक दबाब, राजनीतिक हस्तक्षेप र सामाजिक सञ्जालमा फैलिने गलत सूचनाले प्रेससामु थप परिमार्जित, व्यवस्थित र संयमित भई प्रस्तुत हुनुपर्ने चुनौती छ, यी चुनौतीलाई सामना गर्न संविधानमा निहित प्रेस स्वतन्त्रताको व्यवस्था हाम्रो मार्गदर्शन हो ।”
नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएको बताए । संविधानले दिएको सो अधिकारको प्रयोग र रक्षा गर्दै पत्रकारिता निर्भयपूर्वक अघि बढोस् भनी उनले शुभकामना व्यक्त गरे ।






















