मल आयात गर्दा सीमानाकामा अवरोध हुँदैन, दुःख दिए तत्काल कारबाही हुन्छ : एआईजी ठाडामगर


काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडामगरले नेपाल–भारत सीमा नाकामा मल आयात गर्दा किसानलाई कुनै अवरोध सिर्जना नहुने बताएका छन् ।
बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले मल आयातमा सहजीकरण गरिएको बताएका हुन् ।
उनले मल आयातमा दुःख दिने कुरा पुरानो भइसकेको उल्लेख गर्दै यस वर्ष मल आयात नरोक्ने गरी सीमा सुरक्षा पोस्ट (बीओपी) लाई निर्देशन दिएको उनले जानकारी दिए ।
उनले सीमानाकामा मल आयात गर्दा दुःख दिएको पाइएमा खबर गर्न पनि आग्रह गरे । उनले खुला सीमाको फाइदा उठाएर मलको नाममा अरू वस्तु तस्करी हुने गरेको उल्लेख गर्दै चेकजाँचलगायत कार्य भने भइरहेको बताए ।
“यो साल हामीले मल आयातमा नरोक्ने गरी निर्देशन दिएका छौँ । मल आयातमा दुःख दिएको कतै जानकारीमा पाए उजुरी गर्नुहोला, हामी तत्काल कारबाही गर्नेछौँ । नेपाल–भारत सीमाको ९४७ स्थानमा बाटो नै छ,” उनले भने ।
ठाडामगरका अनुसार, मलको बोरामा चिनीलगायत वस्तु आयात हुने गरेको छ । तस्करी नियन्त्रणमा भने सशस्त्र प्रहरी बल निर्मम भएर लाग्ने बताए । किसानलाई भारतबाट आवश्यक मल ल्याउन भने कुनै कडाइ नगरेको उनको दाबी छ । न्युज एजेन्सी नेपाल






















