Opens in a new tab

नेकपाको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको छः संयोजक दाहाल

रासस

29Shares
dida bag ad

काठमाडौँ, माघ २६। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले राखेको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको बताउनुभएको छ ।नेकपा काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा उहाँले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेपाली कम्युनिष्ट पार्टीको निर्माण भएको बताउनुभयो ।

“नेपालभित्र रहेका सबै कम्युनिष्ट शक्ति अट्न सक्ने गरी नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छौँ, यो पार्टीमा हाल साना र ठूला २६ पार्टी जोडिएका छन् भने हजारौँ कार्यकर्ताहरु जोडिएका छन्”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले नेकपाले सुरुदेखि नै निर्वाचन भनेको र अहिले सिँगो देश निर्वाचनमा होमिएको बताउनुभयो । नेकपा दिनदिनै बलियो हुँदै गएको उहाँको भनाइ छ । उहाँले नेकपा जनताको भरोसाको केन्द्र हुँदै गएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा पपुलिज्मको नाममा लोकतन्त्रमाथि प्रहार गर्ने काम हुन लागेको बताउनुभयो । देशैभर नेकपामा जनलहर छाउँदै गएको उहाँको भनाइ थियो । नेकपाले अगाडि सारेको नीतिको पक्षमा जनतामा आशा र भरोसा थपिंदै गएको दाहालले बताउनुभयो ।

नेकपा काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कल्पना शर्माले जेनजी आन्दोलनपछि देश फरक दिशामा अगाडि बढेको बताउनुभयो । उहाँले जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउन नेकपाको जीत आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेकपा काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हिमाल शर्माले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेकपा नयाँ चुनाव चिह्नका साथ अगाडि बढेको भन्दै आगामी निर्वाचनमा नेकपालाई जीताउन आग्रह गर्नुभयो । कार्यक्रममा वरिष्ठ खेलाडी रेनुका श्रेष्ठसहित दर्जनौँ व्यक्ति एमाले छाडेर नेकपा प्रवेश गर्नुभएको थियो ।