तीन महिनामा नेपाल प्रहरी र सशस्त्रका एक हजार जनाले दिए राजीनामा

नवलपुर टुडे


काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा तीन महिनाभित्र करिब एक हजार सुरक्षाकर्मीले राजीनामा दिएका छन् । नेपाल प्रहरीका करिब साढे ४ सय र एपीएफका करिब साढे ५ सय अधिकृत र जवानले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमध्ये कोही २० वर्ष सेवा पूरा गरेका छन् भने कोही ५ वर्ष मात्रै सेवा गरेका पनि छन् । राजीनामा दिने अधिकांशले ‘घरायसी’ कारण देखाएको दुवै सुरक्षा निकायले जनाएका छन् । केही दिनअघि मात्रै नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।
उनले पनि कारणमा ‘व्यक्तिगत’ उल्लेख गरेका छन् । उनको राजीनामा स्वीकृत हुन बाँकी छ । राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढी छन् । जेन–जी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् ।
जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २२ जना युवा/विद्यार्थीको ज्यान गएपछि भोलिपल्ट देशभर फैलिएको हिंसात्मक प्रदर्शनमा सुरक्षा निकायका कार्यालय तथा ब्यारेक निसानामा परेका थिए । त्यो दिन नेपाल प्रहरीका मात्रै १२ सयभन्दा बढी हतियार लुटिएका थिए भने करिब १ लाख राउन्ड गोली अभिलेखमा भेटिएको छैन । २४ भदौमा प्रदर्शनकारीको कुटपिटबाट ३ प्रहरीको ज्यान गएको थियो ।
काठमाडौंको बानेश्वर वृत्तमा कार्यरत प्रहरीलाई प्रदर्शनकारीले पोसाक नै फुकाल्न लगाएर लखेटेका थिए । नेपाल प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार ‘घरायसी’ र ‘व्यक्तिगत’ कारण देखाएर प्रहरी कर्मचारीबाट दिनहुँजसो राजीनामा आइरहेको छ । ‘यसरी राजीनामा दिनेमा तल्लो तहका कर्मचारी धेरै छन्,’ घिमिरेले भने ।
प्रहरीको अभिलेखअनुसार साउनयता उपदान सुविधा लिएर ९० प्रहरीले राजीनामा दिएका छन् । अरू साढे ३ सय प्रहरीले २० वर्ष सेवा पुगेपछि पेन्सन सुविधामा जागिर छाडेका हुन् । सशस्त्र प्रहरीमा पनि पेन्सन र उपदानमा राजीनामा दिनेको संख्या धेरै छ । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार असोजमा सशस्त्रका २ सय ८५ जनाले पेन्सन सुविधामा राजीनामा दिएका छन् ।
उपदानमा राजीनामा दिनेको संख्या १८ छ । कात्तिक १ देखि लागू हुने गरी राजीनामा दिनेको संख्या १ सय १८ छ ।

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















