बाँकेमा चाडपर्वलाई मध्यनजर गर्दै व्यावसायिक सचेतना अभियान

रासस
२०८२ भदौ १८ | मध्यान्ह ०२:०५ बजे

बाँके । नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै नेपालगन्जमा व्यावसायिक सचेतना अभियान सुरु गरिएको छ । चाडपर्वमा हुनसक्ने कालोबजारी, मूल्य वृद्धि र गुणस्तरहीन खाद्यवस्तुको बिक्रीलाई निरुत्साहित गर्न यस वर्ष नेपालगन्ज उद्योग वाणिज्य सङ्घले सचेतना अभियान सञ्चालन गरेको हो ।
नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले चाडपर्वमा उपभोक्ताको हितका लागि उपमहानगरको अनुगमन समितिलाई सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि खटाइने बताए । उनले बजार अनुगमन गर्नुको उद्देश्य कारबाहीको नभई सचेतना जागरण गर्नु हुने प्रतिबद्धता जनाए ।उनले उपभोक्ता प्रत्यक्ष हानि पुर्याउने काम गरेका र नियत खराब राखेर व्यवसाय गरिरहेकालाई बाहेक अन्यलाई कारबाहीमा लैजानेभन्दा सचेत बनाउने उद्देश्यले बजार अनुगमन हुनुपर्नेमा जोड दिए ।
खाद्य प्रविधि तथा गुणस्तर कार्यालयका प्रमुख हरिबहादुर खत्रीले चाडपर्व नजिकिएसँगै उपभोक्ताको हितलाई ध्यानमा राख्दै अनुगमन गरिने बताए ।उनले व्यापारीहरू पनि आफूले बेच्ने सामानबाहेक अन्य वस्तुको उपभोक्ता हुने भएकाले सबैलाई इमानदारितापूर्वक व्यवसाय गर्न आग्रह गरे । उनले अनुगमनको उद्देश्य कारबाही र जरिवाना गर्ने नहुने भन्दै यसलाई नकारात्मक रूपमा लिन नहुने धारणा राखे ।


















