Opens in a new tab

गाजनेमा स्याउखेती सफल हुँदा कृषक उत्साहित

रासस

29Shares
dida bag ad

म्याग्दी, श्रावण ३१ । म्याग्दीको बेनी नगरपालिका-५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले उत्पादन दिन थालेपछि कृषकहरू उत्साहित भएका छन्।

समुद्री सतहदेखि दुई हजार ५० मिटर उचाइमा रहेको गाजनेमा चार वर्षअघि स्थानीयले परीक्षणका रूपमा स्याउका बिरुवा रोपेका थिए। चौबीस घरधुरीको बसोबास रहेको गाजने गाउँमा रोपेका १०० वटा स्याउका बोटमध्ये अधिकांशले फल दिन सुरु गरेको स्थानीय नीलकण्ठ शर्माले बताए।

‘गाउँमा अधिकांशले पाँचदेखि १५ बोटसम्म स्याउका बिरुवा लगाएका थियौं, बिरुवा रोपेको चार वर्षदेखि नै बोटमा फल लागेको छ, हामीले परीक्षणका रूपमा सुरु गरेको स्याउखेती सफल भएको छ, अब गाउँभर यसलाई व्यावसायिक रूपमा विस्तारमा लाग्छौं,’ शर्माले भने। मुस्ताङबाट गोल्डेन र रेड डेलिसियस प्रजातिको स्याउका बिरुवा ल्याएर लगाइएकामा अधिकांश बोटले उत्पादन दिन सुरु गरिसकेका छन्।

गाउँमा काम गर्ने जनशक्तिको अभावले खेतीयोग्य जमिन बाँझिने समस्या बढिरहेको समयमा नगदे बालीका रूपमा स्याउखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने स्थानीयको योजना छ। गाउँमा स्याउखेतीको परीक्षण सफल भएकाले अन्नबालीको विकल्पको रूपमा स्याउखेतीलाई विस्तार गर्ने तयारी गरेको स्थानीय कृषक गंगादत्त पौडेलले बताए। ‘पाँच वटा स्याउको बोट लगाएको थिएँ, बिरुवा हुर्किंदै जाँदा उत्पादन दिन सुरु गरिसकेको छ, फलेको स्याउ स्वादिलो र रसिलो छ, यो वर्ष तीन रोपनी जग्गामा स्याउलाई विस्तार गर्ने योजना बनाएको छु,’ पौडेलले भने।

गाजने गाउँमा यसअघि विसं २०४२ मा समेत स्याउखेती गरिएको थियो। सार्वजनिक पाखोमा सामूहिक रूपमा गरिएको स्याउखेती तत्कालीन समयमा मलजल र स्याहारको अभावले मासिएको थियो। चिसो हावापानी रहेकाले यस क्षेत्रमा स्याउखेतीको सम्भावना रहेको छ। अन्नबाली लगाउनका लागि श्रमशक्तिमा लगानी धेरै र उत्पादनबाट लाभ कम हुने भएकाले स्याउखेतीलाई गाजनेका स्थानीयले अन्नबालीको विकल्पमा व्यावसायिक खेतीको रूपमा स्याउखेती गर्ने तयारी गरेका छन्।

म्याग्दीमा यसअघि गुर्जा र राम्चेमा परीक्षणको रूपमा स्याउखेती गरिएको छ। हिउँदयाममा हिमपात हुने भू-भागमा स्याउखेती फस्टाउने कृषि प्राविधिक बताउँछन्।

हिउँदमा किन बढ्छ चाया ?

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

बङ्गुरपालनबाट मनग्य आम्दानी

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे