बारको अध्यक्षसहित २७औँ केन्द्रीय कार्यसमिति चयनका लागि गत चैत २३ गते निर्वाचन भएको थियो। निर्वाचनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी र समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। उक्त निर्वाचनबाट २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
पदभार हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिश्रले नेपाल बारलाई राजनीतिबाट अलग राख्ने, वकिलहरूको पेसागत हितका लागि आवाज उठाउने र बलियो संस्थाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘निर्वाचनमा जारी घोषणपत्र कार्यान्वयन, संस्थालाई राजनीतिबाट मुक्त, गतिविधिलाई पारदर्शी र नतिजामुखी बनाउन नयाँ कार्यसमितिले ध्यान दिनेछ।’
अध्यक्षका प्रत्यासी श्रेष्ठले निर्वाचनमा राजनीतिक दल र सरकारको प्रभाव हुन नहुने बताए। उनले बारका निर्णय र गतिविधिमा राजनीतिक वा सरकारी हस्तक्षेप स्वीकार्य नहुने धारणा राखे। उनले भने, ‘बारले वकिलको हित र न्यायालयबारे उठेका प्रश्नलाई स्वतन्त्र रूपमा समाधान गर्न प्रयास गर्नुपर्छ।’
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अन्य वक्ताहरूले नयाँ कार्यसमितिलाई एकता, निष्पक्षता र बारको प्रतिष्ठा कायम राख्दै काम गर्न सुझाव दिए।

























