खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस


वीरगञ्ज (पर्सा), चैत २८ । लामो समयको खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस गराएको छ ।
त्यसैगरी पर्वत संवाददाताका अनुसार छ महिना लामो खडेरीपछि वर्षा हुँदा कृषकहरूले राहत महसुस गरेका छन् ।
खडेरीले हिउँदे खेती प्रभावित भएपछि निरास बनेका कृषकहरू बुधवार रातीदेखिको वर्षापछि हर्षित भएका हुन् । वर्षा नहुँदा मकै सुक्न थालेका थिएभने कोदो र धानको बीउ उम्रिन सकेको थिएन ।
वर्षा नभएका कारण गहुँ, आलु, जौ, फापरलगायतको खेती फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताउनुभयो । जिल्लामा सिंचाई सुविधा पुगेको आठ हजार हेक्टर बाहेक अधिकांश स्थानका कृषकहरू आकाशे पानीमा निर्भर छन् ।
“खडेरीका कारण मकै गोडमेल गर्न पाईएको थिएन, अब सहज भएको छ”, ठुलीपोखरीका कृषक रामप्रसाद सापकोटाले भन्नुभयो । ढिलोगरी वर्षा भएपनि बारीमा मकै लगाउन, लहरेवालीलगायत विभिन्न तरकारी र वर्खे आलु खेती गर्न सहज भएको कृषकहरूको भनाई छ ।
कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतले ह्रास आएको छ । सबैभन्दा धेरै तेलहन र गहुँवाली प्रभावित भएको बरिष्ठ कृषि विकास अधिकृत अधिकारीले जानकारी दिनुभयो ।























