लमजुङमा चार सय मेट्रिक टन सुन्तला उत्पादन

नवलपुर टुडे


लमजुङ । चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिक टन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ ।
विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि प्रसार अधिकृत सरोज थापाले बताए । केही वर्षदेखि बर्सेनि सुन्तला उत्पादनमा घट्दै गए पनि गत वर्ष र यस वर्ष तुलनात्मक रूपमा बराबर उत्पादन भएको उनले उल्लेख गरे ।
गाउँसहर, स्याउत, चिती, भोर्लेटार, सिम्पानी, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदीपुर धिमिरेलगायत ठाउँमा बर्सेनी सुन्तला उत्पादनमा कमी हुँदै आएको थापाले जानकारी दिए । कार्यालयका अनुसार गत आवमा पनि एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला खेतीबाट चार सय मेट्रिक टन उत्पादन भएको थियो । आव २०७९/८० मा एक सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट पाँच सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
आव २०७८/२०७९ मा एक सय ८० हेक्टर क्षेत्रफलबाट एक हजार दुई सय ४० मेट्रिक टन, आव २०७७/२०७८ मा दुई सय १३ क्षेत्रफलबाट एक हजार चार सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि प्रसार अधिकृत थापाले जानकारी दिए । कार्यालयका अनुसार सुन्तलाका लागि लमजुङ उपयुक्त क्षेत्र भए पनि पछिल्लो समयमा विभिन्न रोग तथा किराको सङ्क्रमण, किसानमा प्राविधिक ज्ञानको कमी र बेवास्तालगायत कारणले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ ।
सुन्तलाको बोट र फलमा कत्ले, पतेरोलगायत किराको संक्रमण भई एक बोटबाट अर्को बोटमा सार्ने, सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास आउने रोग), ग्रिनिङ भाइरसलगायत संक्रमण बढ्नेको कृषि प्रसार अधिकृत सरोज थापाले जानकारी दिए । साथै गोडमेल र स्याहार नहुनु, सिँचाइको अभाव, बिरुवा छनोटजस्ता प्राविधिक विषयमा किसानसँग ज्ञान नहुँदा सुन्तला बगैँचा मासिँदै गएको उनको भनाइ छ ।
जिल्लामा उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा खपत हुने गर्दछ । विगतमा लमजुङमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गर्ने गरिएकामा केही वर्षयता एक सय ३० हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा उत्पादन कम हुँदा बाहिरी जिल्लाका सुन्तलाले स्थानीय बजार लिएका व्यापारी बताउँछन् ।

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

















