सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका प्रतिनिधिहरूसँगको छलफलमा स्थानीय र सरोकारवालाहरूले कानुनको परिधिभित्र रहेर आयोजनाका उल्झन टुङ्ग्याउनुपर्ने समितिका सदस्य ठाकुर गैरेले बताए । उनले स्थानीय तहबाट हुने काम स्थानीय रूपमा नै सम्पादन गर्न सुझाए ।
राष्ट्रिय जल उपभोक्ता महासंघका अध्यक्ष शालिकराम डाँगीले सिक्टा सिँचाइ आयोजनाले पूर्णता पाउन अझै ४० वर्ष लाग्ने आशंका व्यक्त गरे । उनले गौरवको आयोजना भनिए पनि बाँकेका किसानको भावनाको कदर नभएको गुनासो गरे ।
दश वर्षभित्रै ३४ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने योजनाका साथ थालिएको सिक्टा थप नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने योजना बनिसक्दा कार्य प्रगति भने आशाजनक छैन ।
आयोजनास्थलको निरीक्षणमा प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, दीपा शर्मा, प्रदेशसभा सदस्य बादशाह कुर्मी, भण्डारीलाल यादव, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलगायत जनप्रतिनिधि सहभागी थिए । सिक्टा सिँचाइ आयोजना प्रमुख राजु आचार्य र प्राविधिक सम्मिलित टोलीले आयोजनाका काम तीव्र गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।























