सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव

झापा ।खानेपानी मन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन् । झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको आज स्थलगत अनुगमन गर्दै उनले निर्माण प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिएका हुन् ।
मन्त्री यादवले जिल्लामा निर्माण भइरहेका दिसाजन्य लेदो व्यवस्थापन परियोजना र सरसफाइ व्यवस्थापन परियोजनाको पनि अवलोकन गर्दै परियोजनाहरूले झापा र आसपासका क्षेत्रका नागरिकलाई स्वच्छता र स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उनले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधान गर्न सरकार सक्रिय रहेको भन्दै व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकनमार्फत परियोजनाको प्रगतिबारे जानकारीसहित सुधारका लागि आफू कटिबद्ध रहेको बताए । मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज खानेपानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँगको सहकार्यलाई सुदृढ गर्ने धारणा राखे ।
उनले भने, “नेपाल सरकार नागरिकको जीवनस्तर उकास्न खानेपानी र सरसफाइ सेवा सुधार्न दृढ छ । स्रोतसाधन परिचालन गरी समयमा निर्माणाधीन परियोजना सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ ।”
झापाका उपभोक्ता संस्थाहरूका पदाधिकारीले मन्त्री यादवको सक्रियतालाई सकारात्मक कदमका रूपमा व्याख्या गर्दै जिल्लामा निर्माणाधीन खानेपानी परियोजनालाई समयमा सम्पन्न गर्न ऊर्जा थपेको प्रतिक्रिया दिएका थिए । मन्त्री यादवको भ्रमण पश्चात् स्थानीय नागरिकले स्थायी र गुणस्तरीय खानेपानी सेवा प्राप्त हुने आशा व्यक्त गरेका छन् ।






















