अपराध, अर्थ

रबि संलग्न यी सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी र सहारा सहकारीको फाइल प्रहरी खोले

नवलपुर टुडे
२०८१ कार्तिक १४ | बिहान ०६:०७ बजे
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा कास्की प्रहरीको  हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएका थप प्रकरणको अनुसन्धान पनि प्रहरीले सुरु गरेको छ।

बुटवलको सुप्रिम सहकारी र चितवनको सहारापछि अब वीरगन्जको सानो पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान पनि प्रहरीले अगाडि बढाएको हो। 

देशका प्रमुख सहरहरूमा खोलिएका जीबी राई नेतृत्वका पाँच सहकारीबाट रवि लामिछाने सेयरधनी तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रूपैयाँ गैरकानुनीरूपमा परिचालन भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा देखाएको छ। 

यी पाँच सहकारीमध्ये चारवटामा केही प्रतिवादीविरुद्ध अदालतमा नै मुद्दा दायर भइसकेका छन्। तर ती कुनै पनि मुद्दामा रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन। अहिले भने प्रहरीले यसअघि मुद्दा दायर भइसकेकामा पूरक अभियोगपत्र अदालत लैजाने तयारी गरेको छ भने जाहेरी परेर पनि अनुसन्धान नै नगरी राखिएका फाइलसमेत अहिले खोलेको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसँगै उनका व्यावसायिक साझेदार छविलाल बन्जाडे जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन्। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पक्राउ पुर्जी जारी भइसकेको छ।

यस्तै जीबी समूहकै चितवनको सहारा, वीरगन्जको सानो पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको पनि अनुसन्धानको क्रममा रहेकाले यसमा पनि लामिछाने तानिने भएका छन्।

वीरगन्जको सानो पाइला सहकारीबाट ८ करोड बढी गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय छानबिनले देखाएको छ। यस प्रकरणमा दोस्रो चरणको अनुसन्धानमार्फत अब रवि लामिछाने, छविलाल बन्जाडेसहितलाई प्रतिवादी बनाउने प्रहरीको तयारी छ। जीबी राईलाई पहिलो चरणमै प्रतिवादी बनाइए पनि उनी फरार छन्। यस्तै पक्राउ परेका सानो पाइलाका पूर्वउपाध्यक्षसहितका प्रतिवादीहरू पनि धरौटीमा रिहा भएका थिए।

एकपछि अर्को प्रकरणको अनुसन्धान अघि बढेपछि लामिछानेको हिरासत बसाइँ लम्बिने सम्भावना बढेको हो। कास्की प्रहरीले अनुसन्धान सकेपछि बुुटवल लैजाने तयारी छ। त्यहाँ सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमतिसमेत लिइसकेको छ।

अदालतले अनुमति दिइसकेकाले अब प्रहरीले कास्कीको अनुसन्धान सकिएपछि बुटवल झिकाउने तयारी गरेको छ। सूर्यदर्शन ठगी प्रकरणमै पक्राउ परेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष बन्जाडेलाई बुटवल लगेर बयान गराइसकिएको छ। अब रविलाई पनि झिकाउने इलाका प्रहरी कार्यालय, बुटवलको तयारी छ।

कास्कीका एसपी श्यामबाबु ओलियाले भने, ‘बुधबारसम्म हामीले अदालतबाट लिएकै म्याद बाँकी छ। अब अरु म्याद लिनका लागि तिहारपछि मात्रै अदालतमा उपस्थित गराउँछौं। बयान लिने क्रम जारी छ। यहीँ बयान नसकिएकाले बुटवल अहिले नै पठाउने कुरा छैन।’

उता रुपन्देही प्रहरी पोखरास्थित सूर्यदर्शनको अनुसन्धानको प्रतीक्षा गरिरहेको छ। ‘जिल्ला प्रहरी कार्यालय कास्कीले तत्कालै अनुसन्धानन टुंग्याएर मुद्दा अदालत लैजाने भएमा त्यसपछि बुटवल ल्याउँछौँ। होइन, समय लाग्ने हो भने त्यहाँ उनको बयान सकिएपछि झिकाउँछौं’, रुपन्देही प्रहरीका एक अधिकारीले भने, ‘अहिलेसम्म हामीले रविलाई पठाइदिनु भनेर पत्राचार गरिसकेका छैनौं।’

बुटवलमा पनि पहिलो चरणको अनुसन्धान सकिएर जीबी भन्ने गितेन्द्रबाबु राईसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिसकिएको छ। तर मुद्दा दायर गर्दा गृहमन्त्री रहेका लामिछानेलाई भने प्रतिवादी बनाइएको थिएन। पहिलो चरणकै अभियोगपत्रमा रविका नाममा २ करोड रुपैयाँ गैरकानुनी तवरले रकम प्रवाह भएको विवरणचाहिँ खुलाइएको छ।  

अब दोस्रो चरणमा उनीविरुद्ध पूरक अभियोगपत्र लैजाने प्रहरीको तयारी छ। त्यहाँ पनि रविलाई सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुनेछ। रविको ‘कोर टिम’ मा रहेर काम गरिरहेका रास्वपाका सहमहामन्त्री विपिन आचार्यकी पत्नी सुरक्षा अधिकारीविरुद्ध पनि सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ।

रविले आफ्ना निकटस्थहरूलाई विभिन्न भूमिकामा संलग्न गराई संगठित तवरले रकम ठगी गरेको आरोप प्रहरीको छ। यस्तै, सबद्ध कसुरका रूपमा सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि रवि लामिछानेमाथि अनुसन्धान हुने भएको छ।

सानो पाइलामा पनि सुरु भयो अनुसन्धान
कास्की र बुटवलमा दोस्रो चरणको अनुसन्धान अगाडि बढिरहँदा लामिछाने जोडिएको पर्साको वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणको फाइल पनि ठिक्क पारेको छ। सानो पाइलाको फाइल झिकेर दोस्रो चरणको अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जानकारी दिएको छ। 

‘अन्य जिल्लामा अनुसन्धान अगाडि बढेपछि हाम्रोमा पनि के रहेछ भनेर हेर्दैछौँ। मुद्दा शाखाले केही दिनदेखि यसको फाइल निकालेर हेर्दै छ। केही दिनमा अनुसन्धानले ठोस गति लिन्छ,’ पर्सा प्रहरीका एक अधिकारीले भने।  तर, पर्सा प्रहरीले पोखरा र बुटवलको मुद्दाको अवस्था हेरी कारबाही अघि बढाउने योजना बनाएको छ। 

सहारामा सरकारी वकिलले पहिल्यै भनेको छ– थप अनुसन्धान गर्नू
पहिलो चरणको अनुसन्धानमा सहारा चितवन सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको भन्दै सरकारी वकिल कार्यालयले नै दोस्रो चरणको अनुसन्धान गर्नुपर्ने औँल्याएको थियो। 

चितवनको भरतपुर महानगरपलिका–३ स्थित केन्द्रीय कार्यालय रहेको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा पहिलो चरणमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ। 

४४६ जना बचतकर्ताको साढे ३७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा मुद्दा दर्ता भए पनि अनुसन्धानका क्रममा केही कारोबारको विवरण सम्बन्धित निकायबाट पाउन नसकेको भन्दै थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको ठहर थियो। 

चितवनको मुद्दा चलिरहँदा यता संसदीय विशेष छानबिन समितिले पनि काम गरिरहेको थियो। संसदीय समितिको प्रतिवेदन आएपछि अहिले चितवन प्रहरीले पनि दोस्रो चरणको अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ।

चितवनका डीएसपी भेषराज रिजाल भन्छन्, ‘हामीले पहिलो चरणमा अनुसन्धान सकेर मुद्दा दायर गरिसकेका थियौँ। पहिलो चरणको अनुसन्धानमा नआएका विषयहरू हामीले हेरिरहेका छौं। थप मगाउने कुराहरु मगाउँछौं। अनुसन्धान गर्ने कुरा भइरहेका छन्।’ सहारा चितवन सहकारीबाट रवि संलग्न गोर्खा मिडियामा ४७ करोड बराबरको कारोबार भएको देखिएको छ।

यसअघिको अभियोग पत्रमा भनिएको छ, ‘सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार के, कसरी, कोकोसँग भएको हो, सोको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकोले सो कम्पनीहरूको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायतका बारेमा थप अनुसन्धान गर्नुपर्ने देखिन आयो।’ दोस्रो चरणको अनुसन्धानमा अब रवि लामिछाने, छविलाल बन्जाडेलगायत पनि तानिने भएका छन्।

स्वर्णलक्ष्मी ठगी प्रकरणमा २५ जनाविरुद्ध पक्राउ अनुमति
काठमाडौँको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी ठगीको पनि अनुसन्धानका लागि प्रहरीले २५ जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति लिइसकेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले कालिमाटी वृत्तबाट उजुरी झिकाएर अनुसन्धान सुरु गरिसकेको छ।

काठमाडौँको कालीमाटीमा मुख्य कार्यालय रहेको यस सहकारीबाट ६ सय ४५ जनाले ठगीमा परेको भन्दै उजुरी दिएका थिए। उनीहरुको १ अर्ब ११ करोड रुपैयाँ डुबेको जाहेरीको विवरणमा देखिन्छ।

लामो समयदेखि अनुसन्धान नै नगरी राखिएको यस उजुरीमा परिसरले हालै मात्र अनुसन्धान अधिकृत तोकेर कारबाही अघि बढाएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका उच्च अधिकारीले बताए। काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले अनुसन्धानको थप प्रक्रिया अगाडि बढेको बताए। 

जीबी र रविका व्यावसायिक साझेदार छविलाल बन्जाडेको शंखमूलस्थित घरमा छापा मारी प्रहरीले नियन्त्रणमा लिएको सर्भर अनुसन्धानका लागि कास्की लगिएको छ। अन्य सहकारीको विवरण पनि कास्कीमै भएकाले अनुसन्धानका लागि प्रहरीले झिकाउँदै छ।

‘यसको पनि सफ्टवेयर पोखरामै छ। पोखराबाट सफ्टवेयर झिकाउन बाँकी छ। त्यो सफ्टवेयरबाट मात्रै ठगीको फेहरिस्त खुल्छ। अन्य जिल्लाले पनि त्यसैबाट विवरण संकलन गरेका हुन्, हामी पनि पहिले त्यो मगाएर अनुसन्धान अगाडि बढाउँछौँ,’ परिसरका एक अधिकारीले भने। 

उजुरी परेको यतिका दिन किन अनुसन्धान नभएको भन्ने प्रश्नमा उनले भने, ‘हामीले माथिबाट जेजे आदेश आयो त्यहीत्यही त गर्ने हो नि। अहिले अनुसन्धान गर्नु भन्ने आयो, गर्न थाल्यौँ।’

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि जीबी राईसहित उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता लामा, सदस्य हेमन्त अधिकारी र रविना रिमालविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको छ।

यस्तै सोही सहकारीको कर्जा उपसमिति पूर्वसदस्यहरू सुरज श्रेष्ठ र राजु बराल, पूर्वकोषाध्यक्ष मीरा बम्जन, पूर्वसहसचिव माया राई, पूर्वप्रबन्धक नवीन अछामी, पूर्वसञ्चालक  दीपक लामा, सविना आलेमगर र भक्तबहादुर भ्लोनविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। 

पूर्वसञ्चालकहरू यामकुमार नाल्बो, राजु बराल, पुनमकुमार चालिसे, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले र कमल लामाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

प्रहरी प्रधान कार्यालयले सहकारी छानविन संसदीय समितिको प्रतिवेदन जुनजुन जिल्लाबाट कार्यान्वयन गर्नुपर्ने देखिएको हो, ती–ती जिल्लामा पठाएर कार्यन्वयन गर्नू भन्ने निर्देशन दिइसकेको जनाएको छ। 

 

कमेन्टहरु