अध्यक्ष दाहालले २०८४ सालमा माओवादी पार्टीलाई २०६४ सालको परिणाममा फर्काउनका लागि आफूले संकल्प लिएको र त्यो पूरा गर्नका लागि आफूले अठोट लिएको पनि सुनाए। उनले समाजवादको उत्पादन आधार तयार पार्नका लागि पनि माओवादी धारबाट अलग भएका सबै पार्टीहरु एकताबद्ध हुनुको विकल्प नभएको जिकिर पनि गरे।
एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको उनले जनाए। आफूहरू शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरूको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै बिन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब त्यो बिन्दु आएको उल्लेख गरे।
अध्यक्ष दाहालले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने बताए। उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र योद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरू बनाएर अघि बढ्ने दाबी गरे।
विगतमा समाजवादको आधार निर्माणका लागि उत्पादन ब्रिगेड बनाएर जाने योजना कार्यान्वयन गर्न नसकेर पार्टीले गल्ती गरेको स्वीकार गर्दै अध्यक्ष दाहालले अब त्यस्तो गल्तीबाट पाठ सिकेर अघि बढ्ने पनि बताए।
























