कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

रासस

सारांश
- कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
- कानूनी स्वामित्वको प्रमाण पाएपछि वर्षौंदेखि जग्गा भोगचलन गर्दै आएका स्थानीय बासिन्दाहरू आफ्नो नाममा जग्गाको स्वामित्व सुरक्षित भएको भन्दै खुसी व्यक्त गरेका छन्।
- नगरपालिकाले बाँकी रहेका गाउँब्लक तथा बजार क्षेत्रका जग्गाहरूको पनि छिट्टै लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाइने जनाएको छ।

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं १, ७ र ९ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । नगरपालिकाका अनुसार वडा नं १ का ७३, वडा नं ७ का ४९ र वडा नं ९ का १३९ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा पाएपछि खुसी भएका छन् ।
वडा नं ९ का स्थानीय छेदी अहिरले पाँच पुस्तादेखि भोगचलन हुँदै आएको जग्गाको लालपुर्जा अहिले आएर प्राप्त भएको बताइन् । पुर्जा नहुँदा जग्गाको स्वामित्वसम्बन्धी समस्या र अन्योल रहँदै आएको उल्लेख गर्दै उनले भनिन्, “हाम्रा पुर्खाले भोगचलन गर्दै आएको जग्गाको पुर्जा पाउन पाँच पुस्ता कुर्नुपर्यो । अहिले आफ्नो नाममा लालपुर्जा पाउँदा परिवारमा खुसी छाएको छ ।”
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीको जग्गामाथिको कानुनी स्वामित्व सुरक्षित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा सहज हुने उनको भनाइ छ ।
“नगरपालिका भित्र रहेका गाउँब्लक जग्गाधनी सबैलाई क्रमशः प्रमाणपुर्जा उपलब्ध गराउनेलाई निरन्तरता दिइनेछ”, नगर प्रमुख शाहले भने । बाँकी जग्गाको दर्ता प्रक्रिया सम्बन्धित निकायसँग समन्वय गरी छिटो सम्पन्न गर्न पहल गरिने उनले जानकारी दिए ।
नगर प्रमुख शाहले कृष्णनगर बजार, बहादुरगञ्ज बजार र सिर्सिहवामा रहेका बहाल बिटौरी जग्गाको लालपुर्जा वितरणका लागि प्रक्रिया अघि बढ्ने बताए । त्यसका लागि अध्यादेश आइसकेको र आयोग गठन भएपछि छिट्टै लालपुर्जा वितरणको काम अगाडि बढाइने उनले बताए ।
नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया पूरा गरी प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिए । विसं २०७० मा नापी गरिएको जग्गाको प्रमाण पुर्जा वितरण गर्न सफल भएको उल्लेख गर्दै उनले प्रमाण पुर्जामा जग्गाधनीको नाम, कित्ता नम्बर, क्षेत्रफललगायत विवरण ध्यानपूर्वक जाँच गर्न आग्रह गरे ।
प्रमाणपुर्जामा कुनै विवरण त्रुटिपूर्ण भएमा सम्बन्धित कार्यालयमा सम्पर्क गरी सच्याउन सकिने उनले बताए । कार्यक्रममा नगर उपप्रमुख आरती चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटा, वडा नं ९ का वडाध्यक्ष शतिस हरिजन, नापी टोलीका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा जग्गाधनीको सहभागिता रहेको थियो ।

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
अरुपनि पढ्नुहोस
सबै
तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
















