प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

नवलपुर टुडे

सारांश
- रसुवाको गत्लाङस्थित पार्वतीकुण्ड हिन्दु र बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र तथा तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको सङ्गम भए पनि उचित प्रचारप्रसार र पूर्वाधार अभावमा ओझेलमा परेको छ।
- यस क्षेत्रमा भगवान् शिव र माता पार्वतीसँग जोडिएको हिन्दु धार्मिक विश्वास तथा गुरु पद्मसम्भवको तपस्यास्थ The बौद्ध महत्व रहनुका साथै यहाँबाट मनमोहक हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ।
- सडक सञ्जालमा पुगेको क्षतिको बाबजुद यस क्षेत्रको संरक्षण, विकास र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सके मुलुकको एक प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयको अपेक्षा छ।

रसुवा । समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र र मनमोहक हिमाली दृश्यले भरिपूर्ण यो क्षेत्र आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा भने ओझेलमा परेको छ ।
आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङको शिरमा रहेको पार्वतीकुण्ड धार्मिक तथा सांस्कृतिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । स्थानीय तामाङ भाषामा पार्वतीलाई ‘आमा’ र ताललाई ‘छोदिङ्मो’ भनिने भएकाले स्थानीय मौलिक पहिचानलाई सम्मान गर्दै गाउँपालिकाको नाम पनि आमाछोदिङ्मो राखिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङका अनुसार पार्वतीकुण्ड प्राकृतिक सौन्दर्यको अनुपम उपहार मात्र नभई हिन्दु र बौद्ध धर्मावलम्बीको ऐतिहासिक तथा धार्मिक धरोहर पनि हो । उनले भनिन्, “यहाँ अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रचुर सम्भावना छ । तर, आवश्यक भौतिक पूर्वाधार र राष्ट्रियस्तरमा प्रचारप्रसार हुन नसक्दा यो क्षेत्र अझै ओझेलमा छ । गाउँपालिकाले संरक्षण र स्थानीयस्तरमा प्रवर्द्धनका प्रयास गरिरहेको भए पनि यसको समग्र विकासका लागि सङ्घीय तथा प्रदेश सरकारको विशेष बजेट र रणनीतिक योजनाको आवश्यकता छ ।”
पार्वतीकुण्डको उत्पत्ति र महत्वबारे हिन्दु तथा बौद्ध धर्ममा आआफ्नै धार्मिक आख्यान प्रचलित छन् । हिन्दु धार्मिक किंवदन्तीअनुसार यसको सम्बन्ध गोसाइँकुण्डको उत्पत्तिसँग जोडिएको छ ।
समुद्र मन्थनबाट निस्किएको हलाहल विषको डाह शान्त पार्न भगवान् शिवले नीलकण्ठ बनेर गोसाइँकुण्डको सृजना गरेको धार्मिक विश्वास छ । शिवको खोजीमा माता पार्वती यसै स्थानमा विराजमान हुनुभएको स्थानीय जनश्रुति छ । यही विश्वासका आधारमा कुण्डलाई पवित्र तीर्थस्थल मानिन्छ । यहाँ स्नान गरे मोक्ष प्राप्त हुने जनविश्वास छ । मानसरोवर तीर्थयात्रा गरेर फर्कने भारतीय तीर्थयात्री पनि यहाँ स्नानका लागि आउने गरेका छन् । भारतको हिमाञ्चलस्थित प्रसिद्ध धार्मिकस्थल छोपेमासँग पनि यस कुण्डको पौराणिक सम्बन्ध रहेको विश्वास गरिन्छ ।
बौद्ध धर्मावलम्बीका अनुसार गुरु पद्मसम्भव (गुरु रिम्पोछे)ले मानव समुदायको सुख, शान्ति र मुक्तिका लागि यस हिमाली क्षेत्रमा तपस्या गरेका थिए । तपस्याका क्रममा स्नानका लागि आवश्यक पवित्र जल यहाँका विभिन्न जलाशयमध्ये पार्वतीकुण्डमा सबैभन्दा शुद्ध रहेको विश्वास गत्लाङका स्थानीय अविनाश तामाङ बताउँछन् ।
स्थानीय फुर्पुसिङ्गी तामाङका अनुसार पार्वतीकुण्ड धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्य र तामाङ सम्पदाले भरिपूर्ण क्षेत्र पनि हो । यो प्रसिद्ध तामाङ सम्पदा मार्गमा पर्दछ । यहाँ आउने पर्यटकले तामाङ संस्कृति, परम्परागत वेशभूषा र रैथाने जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न सक्छन् । कुण्ड वरपर रहेका गुराँस, खस्रु, लालीगुराँस र काठका रूखले यहाँको वातावरणलाई शान्त र मनमोहक बनाएका छन् ।
कुण्डनजिकै रहेको प्राकृतिक दृश्यावलोकनस्थल ‘ज्यार्सा भ्यूप्वाइन्ट’बाट लाङटाङ, गणेश, मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण र जुगललगायतका हिमशृङ्खला स्पष्ट देख्न सकिन्छ । यहाँबाट चीनतर्फका हिमाल, काठमाडौँ उपत्यकाको केही भाग र त्रिशूली नदीको दृश्यावलोकन गर्न सकिन्छ ।
पार्वतीकुण्डभन्दा माथिल्लो भागमा रहेको दूधकुण्डलाई स्थानीय धार्मिक मान्यताअनुसार पार्वतीकुण्डको दिदीबहिनीका रूपमा लिने गरिन्छ । यस क्षेत्रको ऐतिहासिक महत्व बोकेको प्राचीन ‘बोङ्जो घले दरबार’को भग्नावशेष, पार्वती मन्दिर र नेपाली सेनाको ब्यारेक रहेको छ । सान्जेन खर्क, सान्जेन हिमाल, गणेश हिमाल, सोमदाङ तथा धादिङका विभिन्न बस्ती पुग्ने प्रमुख पदमार्गका रूपमा पनि यो क्षेत्र परिचित छ ।
पार्वतीकुण्ड क्षेत्र विकास समितिले पर्यटकको आकर्षण बढाउन स्थानीय तामाङ समुदायमार्फत मौलिक सांस्कृतिक झाँकी, म्हेन्दोमाया र सेलोलगायत परम्परागत नृत्य प्रस्तुत गर्ने गरेको छ । यसले पर्यटकलाई स्थानीय संस्कृति र परम्परासँग नजिकबाट परिचित गराउने गरेको छ ।
प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण पार्वतीकुण्डको संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार हुन सके यसलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने स्थानीयको अपेक्षा छ । यसबाट स्थानीयवासीको आर्थिक जीवनस्तर सुधारमा पनि योगदान पुग्ने देखिन्छ । गत भदौ १० गतेको भोटेकोशी बाढीले सडक सञ्जालमा क्षति पुर्याएपछि यो क्षेत्र थप ओझेलमा परेको छ ।

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
अरुपनि पढ्नुहोस
सबै
राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

















