राजनीति

नक्कली भुटानी शरणार्थी र गिरीबन्धु जग्गा काण्डले बुढानीलकण्ठ र बालकोटलाई मिलायोः अध्यक्ष दाहाल

नवलपुर टुडे
२०८१ भदौ ३० | मध्यान्ह ०५:०५ बजे

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा भएको सरकारले उठान गरेका मूलतः नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट जग्गा घोटाला काण्डका कारण नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको बताएका छन्।

आइतबार झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले यी दुई काण्डमा दुई पार्टीका ‘गतिलै’ नेताहरू पर्ने भएकाले बुढानीलकण्ठ र बालकोटको मिलन भएको बताए।

उनले भने, ‘हामीले निकै ठूल्ठूला भ्रष्टाचारका फाइल खोल्यौँ। तर यी दुईवटा फाइलले उनीहरूको निद्रा बिग्रियो र संसारमा हुँदै नभएको संसदका दुई ठूला दलको अप्राकृतिक गठबन्धन बन्यो।’

prachanda1

आफूले गिरीबन्धु टी स्टेटको ५१ बिघा जग्गा टेक्ने अवसर पाएको भन्दै त्यही जग्गा काण्डमा कांग्रेसले एमालेलाई र एमालेले कांग्रेसलाई दोष लगाएको दाहालले बताए।

उनले भने, ‘उनीहरूको त्यो एक–अर्काको आरोप भ्रष्टाचारीलाई जोगाउन बाहेक केही होइन।’

अहिलेसम्म प्राप्त उपलब्धिलाई सिध्याउने किसिमले संविधान संशोधनको कुरा ल्याए मान्य नहुने उनले बताए। बंगलादेशको घटना दोहोर्‍याउँदै उनले बहुमतको घमण्ड नगर्न कांग्रेस र एमालेका नेताहरूलाई चेतावनी दिए।

कमेन्टहरु