माओवादीकाे अवराेधपछि प्रतिनिधि सभा बैठक स्थगित


काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। गत भदौ १२ मा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो। तर आजको बैठकमा सभामुख घिमिरेले भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए।
सभामुखको उक्त निर्णयलाई लिएर संसद्मा चर्काचर्की भएको थियो। सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिएका थिए। पाण्डेको जवाफ एमाले सांसद रघुजी पन्तले फर्काएका थिए। उनले माओवादीले पहिला पनि आफूहरूलाई हिंसा भन्ने गरेको र आफूहरूले पहिला पनि हिंसा शब्द संसद्मा प्रयोग गरेको बताएका थिए।
त्यसको जवाफ फर्काउन माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागेका थिए। तर सभामुखले समय दिन आनाकानी गरेपछि संसद्मा माओवादी सांसदहरुले अवरोध जारी राखेका हुन्।
सभामुखले पटक पटक माओवादी सांसदहरूलाई सभा सञ्चालन गर्न दिन आग्रह गरेका थिए। तर अवरोध जारी रहेपछि सभामुखले भदौ ३० गते बैठक बस्ने गरी बैठक स्थगितको घोषणा गरे।






















