रौतहटमा स्रोत नखुलेको चार लाख नगदसहित एक भारतीय पक्राउ


रौतहट । रौतहटको गौर नगरपालिका–२ भन्सार ईलाकामा बुधबार भारतबाट नेपालतर्फ स्रोत नखुलेको रकम लिएर आउँदै गरेका एक भारतीय नगरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म गौरबाट खटिइएको चेकप्वाईन्ट टोलीले चेकजाचको क्रममा भारतबाट नेपाल आउदै गरेको पैदल यात्री भारतको सितामाढी भटौलिया ग्राम पंचायत–५ बेल्गंज टोल बस्ने ६१ वर्षिय इस्माईल मियाँले पाईन्टको गोजीभित्र अवैध रुपमा लुकाएर ल्याउँदै गरेको चार लाख नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईले जानकारी दिए ।
‘हामीले मियाँलाई नियन्त्रणमा लिनसाथ रकम कहाँ र कसलाई दिन जान लागेको भनेर सोधपुछ गरेका थियौं,’ उनले भने,‘मियाँले केही बताउन चाहेनन् । स्रोत खुलाउन नसकेपछि रकमसहित नियन्त्रणमा लिएका हौं ।’ उनलाई नगदसहित आवश्यक कार्बाहीको लागि गौर भन्सार कार्यालय बुझाईएको एसपी हुमागाईले बताए ।
सीमाक्षेत्रमा केही समयदेखि स्रोत खुलाउन नसकेको रकमको ओसारपसार गर्ने गिरोह सक्रिय हुन थालेपछि सुरक्षाकर्मीले जाँचमा कडाई गरेका छन् ।























