राजनीति

के प्रधानमन्त्रीले पाउलान् दुई तिहाइ मत ?

नवलपुर टुडे
२०८१ साउन ३ | बिहान ०७:०४ बजे

गत असार २८ गते प्रधानमन्त्रीबाट दाहाल पदमुक्त भएसँगै असार ३० गते प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीले संविधानबमोजिम संसदबाट ३० दिनभित्र विश्वासको मत लिने क्रममा २०८ मत रहेका दलको समर्थन प्राप्त गर्न सक्दैनन् कि भन्ने प्रश्न उठेको छ।

अघिल्ला प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्ने सबै सांसदले वर्तमान प्रधानमन्त्री ओलीलाई मतदान गर्ने सम्भावना विस्तारै टर्दै गएको छ। दाहालको विपक्षमा मतदान गर्ने राप्रपा, जसपा नेपाल र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले प्रधानमन्त्री ओलीलाई मतदान गर्ने विषयमा अन्योल देखिएको हो।

अहिले राप्रपा र स्वतन्त्र सांसद मण्डल प्रतिपक्षमा बसेका छन् भने जसपा सत्तापक्षमा बसेको छ। दुवै दलको सरकारमा सहभागिता छैन। तर नागरिक उन्मुक्ति पार्टीले भने सरकारमा सहभागी नभए पनि विश्वासको मत दिने एक सांसदले बताएका छन्, तर संसदमा सत्तापक्षमा बसे पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने सरकारमा सहभागी नगराइएकोमा रुष्ट भइरहेको संकेत गरेको छ।

जसपा सांसद प्रकाश अघिकारीले विश्वासको मत दिने–नदिनेबारे सोचिरहेको बताए। उनले भने, ‘वर्तमान सरकारले विश्वासको मत लिने निर्णयबारे जानकारी पाइएको छैन। विश्वासको मत लिने भएपछि हामीले बैठक बसेर निर्णय गर्ने छौं, विश्वासको मत दिने–नदिनेबारे सोचिरहेका छौं।’

प्रतिनिधिसभामा राप्रपाको १४ र जसपा नेपालको पाँच सिट र एक स्वतन्त्र सांसद गरी २० सांसदको मत ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान परेमा प्रधानमन्त्री ओलीले २०८ मत रहेको दलको समर्थन पाउने छैनन्। उनको मत घटेर एक सय ८९ मा सीमित हुने छ। 

दुई सय ७५ सदस्यीय संसदमा दुईतिहाइ पुग्नका लागि एक सय ८४ मतको आवश्यकता पर्दछ। संविधान संशोधन गर्ने सहमतिमा बनेको यो सरकारले दुईतिहाइ मत प्राप्त त गर्नेछ तर साना एक दलले मात्र समर्थन फिर्ता लिएमा दुईतिहाइ मत जोखिममा पर्नेछ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने सम्भावना बोकेका दलहरूमा कांग्रेस ८८, एमाले ७८ (सभामुखको गणना हुँदैन टोपबहादुर रायमाझी निलम्बन), जनता समाजवादी ७, जनमत पार्टी ६, लोकतान्त्रिक समाजवादी ४ गरी नागरिक उन्मुक्ति पार्टी ४, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र अमरेशकुमार सिंह गरी एक सय ८९ रहेका छन्।

राप्रपा १४, जसपा ५, योगेन्द्र मण्डलसहित विश्वासको मतको विपक्षमा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, एकीकृत समाजवादीका १०, आम जनता पार्टीको १ गरी ८४ मत पर्नेछ।

विश्वासको मतका पक्षमा एक सय ८९ र विपक्षमा ८४ मत परेपछि कुल दुई सय ७३ मत हुने छ भने नेमकिपाको तटस्थमा १ गरी दुई सय ७४ पुग्नेछ, तर सभामुख देवराज घिमिरेले मतदानमा भाग नलिने र एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा रहेकाले मतदानमा भाग लिन नपाउने हुँदा संसदमा कुल मत दुई सय ७३ मात्र खस्नेछ।

कमेन्टहरु