Opens in a new tab

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

नवलपुर टुडे

315Shares

सारांश

  • फ्रान्समा जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाको कमजोरीविरुद्ध ६ लाखभन्दा बढी मानिसले सडक प्रदर्शन गरेका छन्।
  • प्रदर्शनीका क्रममा न्यूनतम ज्याला वृद्धि, कर सुधार र सार्वजनिक सेवाको गुणस्तर सुधार गर्न माग गरिएको छ।
  • प्रदर्शन नियन्त्रणका लागि ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो भने पेरिस र लियोनजस्ता सहरमा केही तनावपूर्ण स्थिति उत्पन्न भएको थियो।
dida bag ad

काठमाडौं । जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध बिहीबार फ्रान्सभर ६ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । दिउँसोसम्म दुई लाख ७० हजार रहेको प्रदर्शनकारीको संख्या साँझसम्म ६ लाख पुगेको त्यहाँका आन्तरिकमन्त्री लरेन्ट नुनेजले बताएका छन् ।

पाँच श्रमिक युनियनको आह्वानमा आयोजित प्रदर्शनमा सार्वजनिक तथा निजी क्षेत्रका कामदारसँगै विद्यार्थी पनि सहभागी भएका थिए । प्रदर्शनकारीले न्यूनतम ज्याला वृद्धि, समान पारिश्रमिक वृद्धि, कर सुधार र सार्वजनिक सेवाको गुणस्तर सुधार गर्न माग गरेका छन् । विद्यार्थीले पनि राम्रो शैक्षिक वातावरणको माग गर्दै आन्दोलनमा साथ दिएका छन् ।

अक्टोबरमा भएका विद्यार्थी प्रदर्शनमध्ये केही हिंसात्मक बनेका थिए । प्रदर्शनकारीले पसलमा तोडफोड गर्नुका साथै मध्य फ्रान्सको लिमोजेसस्थित नगरपालिकाको भवनमा आगजनी गरेका थिए । राष्ट्रपति इम्मानुएल म्याक्रोँले हिंसाका निम्ति अति वामपन्थी समूहलाई जिम्मेवार ठहर गर्दै प्रदर्शनमा थप सुरक्षाकर्मी परिचालन गर्ने बताएका थिए ।

पेरिस, लियोन, मार्सेली र अरू सहरमा ठूला र्‍याली निकालिएका थिए । प्रदर्शन नियन्त्रणका निम्ति देशभर करिब ७० हजार प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

लियोनमा दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप भए पनि अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे । पेरिसमा भने स्थिति तनावपूर्ण बनेको थियो । प्रहरीले केही स्थानमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो । एफिल टावर दिनभर बन्द राखिएको थियो ।

बिहीबार बिहानै मार्सेली, लियोन र नान्टेसलगायत सहरमा प्रदर्शन सुरु भएका थिए । पश्चिमी क्षेत्र ब्रिटनीको रेनेसमा मुख छोपेका व्यक्तिहरूले सडक अवरुद्ध गर्ने प्रयास गरेको स्थानीय अधिकारीले बताएका छन् । दक्षिणपश्चिमी सहर टुलुसनजिकैको एक माध्यमिक विद्यालयमा आगजनी गरिएको थियो ।

बिहानै विद्यार्थी र अरू प्रदर्शनकारीले फोहोरका डब्बा राखेर सडक अवरुद्ध गरेपछि दंगा प्रहरीसँग आमनेसामने भएका थिए । प्रदर्शनसँगै शिक्षा, रेल, अस्पताल र हुलाक सेवाका कर्मचारी पनि हडतालमा सहभागी भएका थिए । सार्वजनिक तथा निजी क्षेत्रका शिक्षा युनियनले कर्मचारीलाई काम छाड्न आह्वान गरेका थिए ।

साँझतिर प्रदर्शनकारी तितरबितर हुन थालेका थिए ।

अरुपनि पढ्नुहोस

सबै