रास्वपाबाट मुकुल ढकाल साधारण सदस्य मात्रै रहने गरी कारबाहीमा

नवलपुर टुडे
२०८१ असार २५ | मध्यान्ह ०१:०३ बजे

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो।
ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिए।
‘…केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने सिफरिसलाई समेत ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो,’ बैठकका निर्णय सुनाउँदै झाले भने।
केन्द्रीय समितिको निर्णय चित्त नबुझे ढकालले ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने बताइएको छ।






















