एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामलाई झलनाथको समर्थन


काठमाडौं, असार १२ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदको दाबीबाट पछि हटेका छन् ।
खनालपछि हटेसँगै उनको समर्थन घनश्याम भूसाललाई हुने भएको छ । बुधबार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा उनीहरूबीच एकताबद्ध भएर अघि बढ्ने सहमति भएको हो ।
‘हामीबीच राजनीतिक, वैचारिक र सांगठनिक नेतृत्वमा एकतावद्ध भएर जाने समझदारी भयो,’ खनालले भने, ‘मैले उठाउँदै आएका राजनीतिक विचारहरू, वैचारिक कार्यदिशा बहन गर्न उहाँ सहमत हुनुभयो । त्यसपछि हामी एक भएर अघि बढ्ने निष्कर्षमा पुग्यौं ।’
तपाईंले अध्यक्षको उम्मेदवारमा भूसाललाई समर्थन गर्नुभएको हो भन्ने प्रश्नमा खनालले भने, ‘मेरो राजनीतिक विचार नै उहाँले बोकेपछि म सहमत भएको हुँ ।’
यही असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गर्दैछ । महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल पनि उठ्ने तयारीमा छन् ।






















