चितवनमा र नवलपुरमा सात मोटरेवल पुलको निर्माण सम्पन्न

रासस


नारायणगढ (चितवन), जेठ २८ । चालु आर्थिक वर्षमा डिभिजन सडक कार्यालय भरतपुरमार्फत निर्माण सम्झौता भएका सात मोटरेवल पुलको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएका पुलमा २० मिटरदेखि दुई सय मिटरसम्मका मोटरेवल दुई लेनका पुल रहेका छन् ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार यस आर्थिक वर्षमा चितवनमा छ र नवलपुरमा एक पुलको निर्माण सम्पन्न भएको हो । उहाँले यस वर्ष ठूला पुलमध्येका चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण सम्पन्न भएको बताउनुभयो । रु २० करोड लागतको पुलको विसं २०७१ मा सम्झौता भएको र पटक–पटक म्याद थप्दै नौ वर्षपछि गत पुसमा मात्र निर्माण सम्पन्न भएको उहाँको भनाइ थियो ।
शाहका अनुसार निर्माण सम्पन्न भएका अन्य पुलमा चितवनको खैरहनी नगरपालिका–६ नमूना पेट्रोल पम्प नजिकको पम्फा खोला पुलको निर्माण यस वर्ष सम्पन्न भएको छ । रु चार करोडमा निर्माण सम्पन्न भएको सो पुलको विसं २०७३ असारमा निर्माण सम्झौता भएको थियो ।
त्यस्तै, चितवनको राप्ती–६ र १० जोड्ने पम्फा खोला पुलको पनि यस वर्ष निर्माण सम्पन्न भएको छ । विसं २०७५ जेठमा निर्माण सम्झौता भएको सो पुलको यस वर्ष निर्माण सकिएको सूचना अधिकारी शाहले जानकारी दिनुभयो । सो पुलको लागत रु चार करोड छ ।
त्यसैगरी, ढुङ्ग्रे खोला कठार चितवनको पुलको यस वर्ष निर्माण सम्पन्न भएको छ । विसं २०७५ जेठमा सम्झौता भएर यस वर्ष कठार पुलको निर्माण सकिएको इन्जिनियर साहले बताउनुभयो । सो पुलको लागत रु चार करोड ५० लाख रहेको छ ।
चितवनकै इच्छाकामना गाउँपालिकामा पर्ने थाङ खोलामा पनि यस वर्ष नयाँ पुल बनेको छ । सम्झौता भएको मितिले २ वर्षमा निर्माण सम्पन्न सो पुलको बजेट रु चार करोड ५० लाख रहेको छ । शाहले भन्नुभयो, “थाङखोला पुल अब छिट्टै सञ्चालनमा आउँछ ।”
भरतपुर महानगरपालिकामा पर्ने केरुङ्गा खोलाको पुलको पनि यस वर्ष निर्माण सम्पन्न भएको छ । साहका अनुसार रु चार करोडमा निर्माण सम्झौता भएको सो पुल तीन वर्षमा निर्माण सम्पन्न भएको हो । कार्यालयमार्फत यस वर्ष पूर्वी नवलपरासीमा पर्ने गैँडाकोट नगरपालिका–१३ र १६ जोड्ने अभिछेक खोलाको पुल पनि निर्माण सम्पन्न भएको छ । रु पाँच करोड १७ लाखमा निर्माण भएको सो पुलको विसं २०७८ मा निर्माण सम्झौता भएको थियो ।
सूचना अधिकारी साहले यस वर्ष नयाँ पुलको योजना नरहेकोे र रातो किताब आएपछि आगामी आर्थिक वर्षका योजनाहरुको जानकारी प्राप्त हुने बताउनुभयो । कार्यालयको कार्य क्षेत्र चितवन र नवलपरासी (सुस्ता पूर्व) पर्दछ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















