गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता


काठमाडौं, जेठ १४ । सहकारीको बचत अपचलन प्रकरणका आरोपी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता अनुपम भट्टराईले सोमबार सहकारीको बचत अपचलन प्रकरणमा संलग्न भएको आरोपबाट गृहमन्त्री लामिछानेलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता कार्यालयको पत्रविरुद्धको सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
यसअघि अधिवक्ता भट्टराईले दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । त्यसविरुद्धको निवेदनमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपिठ खारेज गरिदिएपछि रिट दर्ताका निम्ति बाटो खुलेको थियो ।
पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न अधिवक्ता भट्टराईले रिट निवेदनमा माग गरेका छन् । लामिछानेमाथि छानबिन गरिँदा उनी पदमा रहन उपयुक्त नहुने उनको जिकिर छ ।
रिटमा उनले महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि कुनै उजुरी र अभियोजन नरहेको भन्दै दिएको पत्र खारेजीको पनि माग गरेका छन् ।






















