अपराध

अनलाइन बेटिङबाट २ अर्ब १ करोड बढी कारोबार गर्ने २४ वर्षीय युवक पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख ३१ | मध्यान्ह १२:०१ बजे

काठमाडौं, वैशाख ३१ । प्रहरीले वानएक्स बेटमार्फत २ अर्ब १ करोड रुपैयाँ बढीको कारोबार गर्ने एक युवकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

ढुंगाना वानएक्स बेट, जुवा ३६५ बेटिङ एपका एजेन्ट रहेको प्रहरीको भनाइ छ । उनले विभिन्न बैंक खाता, वालेटको प्रयोग गरी दुई अर्ब १ करोड  १८ लाख ४४ हजार १०२ रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । 
उनले आफू जुवा ३६५ बेटिङ एपका सञ्चालक भएको भन्दै कारोबार गर्दै आएको पाइएको थियो । उनले बाइनान्समार्फत क्रिप्टो करेन्सीको कारोबार गरिरहेको अनुसन्‍धानमा देखिएको थियो। 

प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता २०७४को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर र दफा २३२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को क र ख लगायत कसुरमा अनुसन्धान गर्ने भएको छ ।

कमेन्टहरु