महोत्तरीबाट १७ वर्षीय युवक अपहरणमुक्त


महोत्तरी । अपरिचित मान्छेको अपहरणमा परेका महोत्तरीका एक युवकलाई प्रहरीले अपहरण मुक्त गराएको छ ।
औरही नगरपालिका वडा नम्बर ३ घर भइ हाल नजकपुर नगरपालिका आनन्दनगरमा डेरा गरी बस्दै आएका १७ वर्षीय अमनकुमार यादवलाई प्रहरीले सकुशल अपहरणमुक्त गराएको हो ।
युवक एसइईपछि जनकपुरमा ब्रिज कोर्स गर्दै आइरहेका थिए । बिहान ३ /४ बजेको समयमा अपरिचित समूह आएर उनलाई कुटपिट गर्दै अपहरण गरेपछि सोही घरमा बस्ने अन्य व्यक्तिले अमनकुमारको घरमा जानकारी गराएका थिए ।
अमनकुमारको परिवारले प्रहरीलाई तुरुन्तै सम्पर्क गरे । नेपाल भारतको सीमानामा पुगेपछि अपहरणकारी भ्यान छोडेर भागेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराजा कडरीया र एसपी भुवनेश्वर तिवारीको नेतृत्वले उनलाई उद्धार गरेको हो ।
अहिले ति युवकलाई प्रादेशिकमा सामान्य चेकजाँचपछि अनुसन्धानका लागि जनकपुर लगिएको छ । अपहरण कसले र किन गर्यो भन्ने कुराकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























