आज यी स्थानमा चट्याङ्गसहित हल्का वर्षादेखि हावा–हुरीको सम्भावना


काठमाडौँ, वैशाख १६ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
विगत केही दिनदेखि देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकोले तातो हावाबाट बच्न महाशाखाले आग्रह गरेको छ ।























