बुटवलको एक होटलमा रडले प्रहार गरी छोरीको हत्या, बाबु पक्राउ


बुटवल, बैशाख ७ । बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एण्ड लजमा बुधबार साँझ बाबुले छोरीको हत्या गरेका छन् । १७ वर्षीया अन्जली जि.सी.को उनकै बाबु ४८ वर्षीय नारायणबहादुरले हत्या गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार रुपन्देहीको कञ्चन गाउँपालिका-५ बर्गदवा बस्ने नारायणले रातको करिब ९ बजे होटलमा बस्दै गर्दा रडले हानेर छोरीको हत्या गरेका थिए । घटनापछि उनलाई विहिबार दिउँसो कञ्चन गाउँपालिका-४ थकालीचोकबाट प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।
बाबु नारायणको प्रारम्भिक बयान अनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनि घरबाट हिँडेकी थिइन् । छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले घर जान आग्रह गर्दा नमानेपछि रिसको झोकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान र बयान लिने काम भइरहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।























