अपराध

प्रहरी चौकी सन्तपुरका असईले काठ चोरेको स्थानीयको आरोप

अशोक यादव
२०८१ बैशाख ३ | मध्यान्ह १२:०१ बजे

रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मातहत रहेको सन्तपुर प्रहरी चौकीका असइले काठ चोरेर फर्निचर बनाएको स्थानीयले आरोप लगाएका छन ।

चोरी तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी चौकी सन्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक दिनानाथ प्रसाद यादवले काठ चोरेर फर्निचर बनाएर घर लगेको स्थानीयले आरोप लगाएका हुन । सन्तपुरको साझा सहकारी संस्था लिमिटेडको भबनमा अस्थायी रुपमा रहँदै आएको प्रहरी चौकी सन्तपुरका प्रहरी सहायक निरीक्षक यादवले संस्थामा रहेको पुरानो काठनै गायब गरि पलगं र किचेन र्‍याक बनाएर लगेको सोही चन्द्रपुर नगरपालिका वाड नं. ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए ।

प्रहरी सहायक निरीक्षक यादवले संस्थाको काठबाट फर्निचर बनाएर पटक पटक उनले आफनो घर पुर्‍याएको र अन्तिम पटक लैजाने तयारी गरेको समयमा स्थानीयले रोकेपछि यसको उजागार भएको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जीतेन्द्र चौधरीले बताए ।

सोही बिषयलाई लिएर सोमबार बिहान प्रहरी चौकी मै भेलाको आयोजना गरिएको थियो । असुली धन्धाको आरोप उनीमाथि लाग्दै आएको र माथिल्लो निकायलाई जानकारी गराउदा समेत बेवास्ता हुदै आएको वडा अध्यक्ष चौधरीले बताए । प्रहरी चौकीको भवन निर्माणाधीन अवस्थामा रहेकोले संस्थाले आफ्नो भवनको कोठा अस्थायी रुपमा चौकी सञ्चालनको लागि प्रहरीलाई दिएको थियो ।

उक्त संस्थाका अध्यक्ष एवं चन्द्रपुर नगरपालिकाका पूर्व प्रमुख रामचन्द्र चौधरीले जुन संस्थाले आश्रय दिएको छ त्यही संस्थाको सम्पत्ति गायब बनाउनु उचित नभएको बताए । प्रहरी सहायक निरीक्षक यादवले खोलाबाट माटो, पाङ्गो बोकेको ट्र्याक्टरका धनीसँग अनधिकृत लाभ समेत उठाउँदै आएको आरोप यसअघिदेखिनै लाग्दै आएको थियो ।

प्रहरी सहायक निरीक्षक दिनानाथ यादवले भने आफूले राम्रो काम गरेपछि विभिन्न लान्छाना लगाउने काम भएको बताए । यस बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक गायत्रीराज शर्माले जानकारी दिएका छन ।

कमेन्टहरु