आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना


काठमाडौँ, चैत २५ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेशका साथै मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भूभाग र तराईका केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






















