अपराध

मोटरसाइकलको ट्यांकीभित्र लुकाई लागुऔषधको तस्करी गर्ने दुई जना पक्राउ

नवलपुर टुडे
२०८० चैत्र २२ | बिहान ०९:१२ बजे

वीरगञ्ज। मोटरसाइकलको पेट्रोल ट्यांकीभित्र लुकाई लागुऔषधको तस्करी गरेको आरोपमा दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगञ्जस्थित वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको ना ४३ प २०२ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो।

जाँचको क्रममा मोटरसाइकलको पेट्रोल टयांकीभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले लागुऔषध ओनेरेक्स सिरप एक सय एमएलको ३९ बोतल फेला पारेको थियो। लागुऔषध बरामद भएपछि प्रहरीले मोटरसाइकल चालक मकवानपुर, हेटौंडा उपमहानग्पालिका वडा नं. १३ बस्ने वर्ष २४ को सुभराज मोक्तान र मोटरसाइकल पछाडि सवार सोही नगरपालिका वडा नं. ४ बस्ने वर्ष २२ को निरज गोलेलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका दुबैजनालाई लागुऔषध मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए।

कमेन्टहरु