एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना


काठमाडौं, चैत १८ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ ।
आइतबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






















