आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौँ, चैत १५ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।























