अपराध

ढोलाहिटी हत्या प्रकरणमा संलग्न आरोपी लागुऔषध मुद्दामा दुई वर्ष जेल बसेर निस्केका युवक

नवलपुर टुडे
२०८० चैत्र १३ | मध्यान्ह ०६:१२ बजे

काठमाडौँ । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुईजनाको हत्यामा संलग्नमध्येका एकजना यसअघि पनि जेल बसेर निस्केको थाहा भएको छ ।खोटाङ घर भएका डि–पोपिना रेस्टुरेन्टका सञ्चालक ३१ वर्षीय विजय राई लागुऔषध मुद्दामा जेल बसेर निस्केका हुन् । लागुऔषध मुद्दामा २ वर्ष जेल बसेर निस्केको ‘क्रिमिनल रेकर्ड’ भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए ।

प्रहरी वृत्त थानकोटले विजयलाई ०७५ मा लागुऔषध मुद्दा चलाएको हो । सो मुद्दामा जेल भुक्तान गरेर निस्केपछि उनले रेस्टुरेन्ट व्यवसाय सुरु गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । चक्कु प्रहारबाट ११ फागुनमा दुईजनाको मृत्यु भएको थियो । विवाद भएपछि प्रहरीलाई खबर गर्नुको साटो रेस्टुरेन्ट सञ्चालकले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको हो । रोबसको कोखमा र पुजनको तिघ्रामा चोट लागेको थियो ।

हत्या आरोपमा प्रहरीले विजय राई, रेस्टुरेन्टका अर्का सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर घर भएका ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर घर भएका २५ वर्षीय छेङ्गवीहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न एकजना फरार रहेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।

कमेन्टहरु